इटहरीः बिद्यार्थीहरुलाई किताबी ज्ञानसगै व्यवहारिक ज्ञान पनि दिलाउने उद्देश्यले हिसान सुनसरीले यही माघ ५ गतेबाट हिसान स्पोर्टस मिटको आयोजना गर्ने भएको छ ।

विगत ८ बर्षदेखि उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) नेपालले विभिन्न खेलकुद आयोजना गर्दै खेल उत्सवको रुपमा स्पोर्टस मिटलाई मनाउदै आएको छ । सुनसरी जिल्लाको संस्थागत शिक्षालयहरुमा अध्ययनरत कक्षा ११ र १२ का करिब १ हजार २ सय ५० जना छात्राछात्राहरुको प्रत्यक्ष रुपमा सहभागीता रहने छ । यस्तै, अप्रत्यक्ष रुपमा ८ हजार भन्दा बढिको स्पोर्ट मिटमा सहभागीता रहने संस्थाका सचिव सागर भट्राईले बताए । स्पोर्ट मिट अन्र्तगत फुटवल, भलिवल, व्याटमिन्टन, हाजिरजवाफ, क्रिकेट, बास्केटवल, टेवल टेनिस लगायतको ११ वटा बिधामा सञ्चालन हुने छ भने जम्मा १५ वटा इभेन्ट हुने संस्थाका अध्यक्ष मुकुन्द घिमिरेले बताए ।

बिद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर खेलकुदको क्षेत्रबाट पनि आफ्नो विकास गर्न सक्ने भएको कारण यो स्पोर्टस मिट निकै महत्वपुर्ण हुने आयोजकले जनाएको छ । यो बर्ष नेपालमै हिसानले पाककला प्रतियोगितालाई पनि प्राथमिकता सहित सञ्चालन गर्ने भएको छ । नेपालले भ्रमण बर्ष मनाई रहदा यो प्रतियोगिताले विद्यार्थीमा हस्पिटालिटिको पनि ज्ञान बढाउने आयोजकले बिश्वास लिएको छ । खेल सुनसरीको दुहवी, धरान, इटहरीमा सञ्चालन हुने आयोजकले जनाएको छ ।