भोजपुर : भोजपुरमा भूकम्पबाट क्षति भएका ६५.४४ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका पाँच हजार १९१ मध्ये हालसम्म तीन हजार ७६२ घरको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरले जनाएको छ ।

पछिल्लो समय कार्यालयले स्थानीय तहस्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याको विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षसँग पुनर्निर्माण सम्बन्धी गोष्ठी सञ्चलान गर्न थालेसँगै कामले तीव्रता पाएको कार्यालयको भनाइ छ । भूकम्पले क्षति भएका पाँच हजार ४४९ घरमध्ये हालसम्म पाँच हजार १९१ पीडितले पहिलो किस्ता र चार हजार ३८९ जनाले दोस्रो किस्ता लिएका छन् । पाँच हजार ४४९ घर पूर्णरूपमा क्षति भए पनि पाँच हजार १९१ जनाले मात्र सम्झौता गरेका थिए । त्यस्तै, जिल्लाभर ४५३ जना प्रवलीकरणका लाभग्राही रहेकोमा अहिलेसम्म २६५ जना लाभग्राहीले सम्झौता गरेर पहिलो किस्ता लगेका छन् ।

कार्यालय प्रमुख राजनराज रेड्डीले जति सक्दो चाँडो पुनर्निर्माणको काम सक्ने काम भइरहेको बताए । कार्यालय प्रमुख रेडडीका अनुसार पहिलो किस्ता लिन बाँकी रहेका लाभग्राहीका लागि पौष मसान्तसम्मको म्याद थियो भने दोस्रो र तेस्रो किस्ताको रकम माघ मसान्तसम्म लिनुपर्नेछ ।

६२८ जनाले लाभग्राही सूचीमा नाम दर्ता गरेर पनि पहिलो किस्ता नलिएको कार्यालयले जनाएको छ ।