धरान: कोशी राजमार्गअन्र्तगतको चारकोसे जंगलमा शनि महादेवको मन्दिर छ । जहाँ हरेक शनिबार दर्शन गर्न जाने भक्तजनहरुको घुँइचो हुन्छ । नजिकै विश्वकर्मा मन्दिर पनि छ ।

भक्तजनहरुको घुँइचो हुने भएपछि मन्दिर क्षेत्रमा पुजा सामग्रीको व्यापार गर्ने र भिख माग्नेहरुको पनि लाम हुन्छ । त्यही भिडमा आज शनिबार २ वटा ब्यानर राखेर धरानका केही युवाहरु चिया बिक्री गरिरहेका थिए । तर, यथार्थमा उनीहरु व्यापारी नै भने होइनन् । उनीहरुले सामाजिक कामको लागि चिया बिक्री गरिरहेका थिए । परिवर्तनको आशा नेपालको आयोजना र होप धरानको संयोजनमा युवाहरु चिया बिक्री गरिरहेका थिए ।

चियाको मुल्य तोकिएको हुदैन । चिया पिउनेहरुले आफ्नो इच्छा अनुसार सहयोग गर्नसक्छन् । यसरी संकलन भएको रकम ती संस्थाहरुले आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, शिक्षामा सहयोग गर्ने गरेका छन् । ‘त्यसै सहयोग माग्नु भन्दा केही दिएर सहयोग लिनु उचित हुन्छ भनेर यो जुक्ति लगाएका हौं,’होप धरानका निश्चल पलिखेले भने,‘आज दोस्रो साता हो, अब एक साता पनि यसरी नै संकलन गरेपछि सहयोग गछौं ।’

chiya1

संस्थाले यसअघि सुनसरीको इटहरीस्थित जनता माविका २ सय ६० विद्यार्थीहरुलाई ट्रयाकको ज्याकेट वितरण गरिसकेको परिवर्तनको आशा नेपालकी उर्मिला बस्नेतले बताइन् । उनका अनुसार इलामको श्री राष्ट्रिय आधारभुत विद्यालयका ८० विद्यार्थीहरुलाई पनि सहयोग दिइसकेको छ । अब सुनसरीको थप २ वटा स्कुलका विद्यार्थीलाई पनि सहयोग गर्ने लक्ष्य राखिएको अर्की अभियन्ता सविना लिम्बुले बताइन् ।

अघिल्लो साता शनिबार भानुचोकमा पनि यस्तै कार्यक्रमबाट २१ हजार ६ सय ९ र हङकङ डलर २० पनि संकलन भएको थियो । यो अभियानलाई मारवाडी महिला मञ्च धरानले चियाको लागि ग्याँस, चियारंग, चिनी, चियापत्तिलगायत सामग्री सहयोग गरेको छ भने थालनी बहुँउद्देश्यीय सहकारीले खारेको घिउ र नौनी घिउ सहयोग गरेको परिवर्तनको आशा नेपालकी बस्नेतले बताइन् । यस्तै, होटल गजुर र बराह ज्वेलर्स प्रालिले पनि सहयोग गरेको छ ।