इटहरी: शुक्रबार इटहरीको फलैचा क्याफेमा केही पर्यटन उद्यमीको भलाकुसारी चल्यो । सोसल गो एण्ड फनले भलाकुसारीको वातावरण बनाएको थियो । जहाँ बिभिन्न क्षेत्रमा आवद्ध उद्यमीको सहभागिता थियो ।

पर्यटनको क्षेत्र सक्रिय धरानका पर्यटनकर्मी बासुदेव बराल पनि त्यही थिए । पत्रकारीता संगै पर्यटनमा आफ्नो छुट्टै पहिचान बनाइसकेका बराल धार्मिक पर्यटनका ज्ञानका भण्डार हुन् । नेपाल सरकारले सन् २०२० लाई पर्यटन बर्ष घोषणा गरेसँगै यसको रौनक चुलिएको छ । नेपालीहरुले आफु घुमेका तस्बिर सामाजिक संजालमा ह्यसट्याग प्रयोग गरेर भिजिट नेपाल 2020 पोस्ट गरिरहेका छन् । त्यसले पनि आन्तरिक पर्यटनलाई ठुलो टेवा पुगेको छ । सरकारको लक्ष्य भने २० लाख बिदेशी पर्यटक नेपाल भित्राउने रहेको छ ।

पर्यटन उद्यमीहरु भने सरकारको लक्ष्य र व्यवहारमा तालमेल नमिलेको कारण समस्या परेको बताउँछन् । उनै बरालका अनुसार सरकारले होस् वा पर्यटन व्यवसायीले पर्यटकको पहिचान गर्न सकिरहेको छैन । लक्षित क्षेत्र र सो क्षेत्रमा सुहाउने पर्यटकको प्याकेज बनाउन नसक्दा पर्यटकलाई बेच्ने प्रोडक्ट नै नभएको उनको भनाई छ । अधिकांश भारतीय पर्यटक भेज हुने तर नेपालका ९८ प्रतिशत होटेल ननभेज हुने जस्ता सामान्य प्राविधिक कुराले पर्यटक आवगमनमा समस्या परिरहेको उनले प्रष्ट पारे । त्यसैले सर्वप्रथम पर्यटकको पहिचान गरी प्रचार प्रसार गर्नुपर्ने उनको सुझाव छ । आफुहरुले जुनस्तरको बस्तु राख्यौ, त्यही स्तरका ग्राहक आउने हुँदा गुणस्तरीय बस्तु राखी गुणस्तरीय प्रचार गर्न जरुरी रहेको उनको भनाईछ ।

बरालकै भनाईमा साथ दिदै पर्यटनविद् कृष्ण साहले समुहगत प्रचार बढाउनुपर्ने धारणा राखे । एउटा संस्थाले मात्र नभएर समुहगत प्रचारप्रसारलाई अगाडी बढाउनुपर्ने उनको बुझाई छ । नेपाली समाजका एउटै समस्या आफुमात्र फाईदा लिने भएकोले पर्यटन व्यवसाय समुहगत प्रयासमा मात्र सफल हुने उनले बताए । त्यसैले पर्यटकलाई दिने सेवा तथा सुविधामा सबै व्यवसायी मिलेर गुणस्तरीयता बढाउन सके धेरै हदसम्म पर्यटन प्रर्वद्धन सफल हुँदै जाने उनको भनाई छ । त्यसका साथै प्रविधिको उच्चतम उपयोग गर्दै प्रचारप्रसार तीब्र पारिनुपर्नेमा अहिलेसम्म हुन नसकेको उनको तर्क छ ।

युवा पर्यटनकर्मी एलिना मगरको पनि त्यस्तै बुझाई छ । पर्यटनमैत्री संरचना त्यही अनुसारको प्रचारप्रसार र हस्पिटालिटीमा ध्यान दिनुपर्ने उनी बताउछिन् । नेपालमै पहिलोपटक व्यवसायीकरुपमा मोटरवोट संचालन गरेका बिमलमान श्रेष्ठ सरकार आफै पर्यटन मैत्री हुनुपर्ने धारणा राख्छन् । पर्यटन क्षेत्रमा करको दर बढाइदिने र पर्यटनकर्मीलाई दुस्मनको जस्तो व्यवहार गर्ने सरकारी नीतिले पर्यटन बर्ष खल्लो हुनसक्ने उनको भनाई छ । तर पर्यटन व्यवासायीको एकता र सामुहिक प्रयास भए यस क्षेत्रमा ठुलो सम्भावना रहेको उनले बताए ।

हस्पिटालिटी म्यानेजमेन्टमा पायनियर भनेर चिनीएका पृथ्वी पराजुली हामीले पर्यटकलाइ गर्ने व्यवहारले यस क्षेत्रको भविष्य निर्धारण गर्ने बताउँछन् । गुड हस्पिटालिटी भएमात्र पर्यटक आकर्षित हुने उनको भनाई छ । अहिलेको सन्दर्भमा आन्तरिक पर्यटक बढाएर भन्दा पनि बाह्य पर्यटक ल्याउने गरी काम गर्नुपर्ने उनको बुझाई छ ।

करीब १ घण्टाको भेटघाटमा पर्यटन बर्ष लक्षित कुराकानी भएको थियो । सोही क्रममा नेपाल म्युजिक फेस्टिभलका फाउन्डर तथा युवा उद्यमशिलताका पक्षपाती रन्जन ओझाले पर्यटन एकल नभएर सामुहिक प्रयास भएको बताए । अहिलेसम्म भएको प्रयास एकल भएको भन्दै पर्यटन बर्ष सफल बनाउन सामान्य पुर्वाधार पनि पुरा हुन नसकेको उनको बुझाई छ । तथापी सरकारको लक्ष्यमा आफुहरुले सक्दो सहयोग गर्नुपर्ने उनले बताए ।