ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “झापामा सशस्त्रको जग्गा खाली गर्न पत्रचार” शीर्षकको समाचार छापिएको छ । पाँचथरबाट करिब ९, १० वर्षअघि झापा झरेकी हुन् सञ्चमाया जवेगु । उनी आफन्तमार्फत परिवारसहित कमल गाउँपालिका ५ मा रहेको जग्गामा बस्न आइपुगेको बताउँछिन् । त्यसबेला उनले ३५ हजार रुपैयाँमा १० कठ्ठा जग्गा ओगटेर बसेकी हुन् । उनले ओगटेको जग्गा सशस्त्र प्रहरी बल पाथीभरा गणको हो । इलामको चुलाचुलीस्थित पेल्टिमारीबाट कमलप्रसाद चापागाई पनि यही ठाउँमा बस्दै आएका छन् । पेल्टिमारीमा राप्रो उब्जनी नभएपछि उनी राम्रो उब्जाउ हुने जमिनको खोजी गर्दै यहाँ आइपुगेकका हुन् । आफन्तमार्फत् नै उनी पनि यस ठाउँमा निश्चित शुल्क तिरेर बसेको बताउँछन् । उनीसँग १ बिगाहा जमिन छ । त्यो जमिन पनि उनले आफ्ना छोराहरुलाई भागबण्डा गरिदिसके । तर उनका छोराहरुलाई भागबण्डा गरेको जग्गा पनि सशस्त्रकै हो । भोजपुरबाट आएका मदनबहादुर राईले ५५ हजार रुपैयाँ तिरेर सशस्त्रको १० कठ्ठा जमिन खरिद गरे । उनी काम गर्दै विभिन्न ठाउँ हिँड्ने गरेको र आफ्नो नेपालभरि कहि पनि जग्गा नभएको दाबी गर्छन् । यी त प्रतिनिधिपात्र मात्र हुन् । उनीहरु जस्तै यहाँका १ सय ५० भरले सशस्त्र प्रहरी बल पाथिभरा गणको जग्गा हडपेर बसेका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “ठेकेदारको ढिलासुस्तीले पुलको काम अलपत्र” शीर्षकको समाचार छापिएको छ । ठेकेदारले समयमै निर्माण कार्य शुरु नगर्दा सुनसरीको तित्रिवन स्थित दन्तकिचा खोलामा डेढ वर्ष बित्दासमेत पुल अझै निर्माण हुन सकेको छैन । असार ३० गतेसम्म पुल निर्माण गरिसक्नु पर्नेमा अहिले पुलको पिसिसि उठाउने काम बल्ल शुरु हुँदैछ । सडक डिभिजन कार्यालय मोरङले २०७५ पुसबाट माँ जानकी एण्ड वाइबा लामा कन्ट्रक्सनलाई दिएको ठेक्का अवधी सकिन लाग्दा बल्ल पुलको बेस उठाउन थालिको छ । ३५ मिटर लामो पुल निर्माणको लागि ३ करोड ८५ लाख रकम सडक डिभिजनले विनियोजित गरेको थियो । रामधुनी नगरपालिकाको ९ नम्बर वार्डमा पर्ने दन्तकिचा खोलामा पुल निर्माण हुदा रामधुनीको ८, ९, २ नम्बर र इनरुवाको ८ नम्बर वाड हुँदै प्रकाशपुर जाडिनेछ । बर्खा महिनामा खोलामा आउने बाढीका कारण स्थानीयहरु खोला तर्न मुस्किल हुने गरेको छ । पुल निर्माणमा ढिलाई भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “भ्रमण वर्षमा बराहक्षेत्र ओझेल” शीर्षकको समाचार छापिएको छ । सरकारद्वारा घोषित नेपाल भ्रमण २०२० का कार्यक्रमहरु ध्माधम शुरु गरिएको छ । २० लाख पर्यटक भित्राउने लक्ष्य राखेर तामझामका साथ अर्बौ रुपैयाँको बजेट खर्च गर्दै तिनै तहका सरकारबाट भैरहेका कार्यक्रम, प्रचारप्रसारमा प्रदेश १ मा संसारमै प्रसिद्ध धार्मिक पर्यटनको पहिलो गन्तव्य बराहक्षेत्र धामलाई भने ओझेलमा पारिएको सरोकारवालहरुले बताएका छन् । निै तहको सरकारले घुम्न लायक स्थानहरुको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माणको कामलाई तिब्रता दिइरहेको छ भनिन्छ । तर प्रदेश १ स्थित पहिलो नम्बरको धार्मिक गन्तव्य रहेको बराहक्षेत्र धाममा अहिलेसम्म नेपाल भ्रमण वर्ष आइनपुगेको उनीहरुले बताएका छन् । स्थानीय व्यवसायी नविन भण्डारीका अनुसार बराहक्षेत्र धामको नाम सबैतिर होलान तर यत्रो भ्रमण वर्षको तामझाम गर्दा बराहक्षेत्र प्रवेश गर्ने नाकाहरुमा सामान्य जानकारी दिने सुचना बोर्डहरु राखिएका छैनन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “प्रदेश १ मा सुर्तीजन्य वस्तुमा कडाई” शीर्षकको समाचार छापिएको छ । सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न सचेतना जगाउने उद्देश्यले सोमबार विराटनगरमा बृहत जनचेतनामुलक र्याली निकालिएको छ । प्रदेश १ को सामाजिक विकास मन्धालयको अगुवाईमा सुरु भएको सुर्तीजन्य वस्तुको नियन्त्रणसम्बन्धी अभियानअन्तर्गत सर्वसाधारणलाई सचेतना जगाउन हजारौंको संख्यामा र्याली निकालिएको हो । सुर्तीजन्य पदार्थको सेवनबाट स्वास्त्यमा पर्ने हानी नोक्सानीबारे अभिभावकहरुलाई समेते सचेत बनाउन विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागितामा र्याली प्रदर्शन गरिएको थियो । शहीद मैदानबाट सुरु भएको र्याली अस्पताल मोड हुँदै जलजला मोड–महेन्द्रचौक–बसपार्क–ट्राफिक चौक हुँदै पूनः महेन्द्र चौकमा पुगेर कोणसभा गरिएको थियो । कोणसभालाई सम्बोधन गदैए सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहिलो चरणमा विराटनगर महानगरपालिकामा सुर्तीजन्य पदार्थको प्रयोगलाई पूर्णरुपमा परिपालना गर्ने निर्णय गरेको बताए ।