धरान : धरान उपमहानगरपालिका ४ नं. वडा कार्यालयले बाल भित्तेपत्रिका प्रकाशन सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ । तालिम सोमबार धरान ४ को खैरेनीटार अर्गानिक कृषि भवनमा सम्पन्न भएको हो ।

तालिममा बाल क्लबका सदस्य तथा विद्यालयका शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो । धरानको ४ नं. वडा बालमैत्री वडाको रुपमा घोषणा भैसकेकाले यसलाई दीेगो बनाई बालअधिकारलाई सुनिश्चित राख्न बाल भित्तेपत्रिका प्रकाशन गर्न लागिएको हो । तालिमले बालभित्ते प्रकाशन गर्न सक्ने विद्यार्थीहरु तयार हुने कुरा धरान ४ का वडाध्यक्ष मान बहादुर राईले बताए ।

तालिममा पत्रकारिताको सैद्धान्तिक, व्यवहारिक ज्ञान सँगै प्रयोगात्क विधि अपनाई नमुना बाल भित्तेपत्रिका समेत प्रकाशन गरिएको थियो । प्रशिक्षक मोहन श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए । वडामा रहेका बाल भित्तेपत्रिका प्रकाशन गर्ने विद्यालयहरुलाई पत्रिका प्रकाशन गर्न आवश्यक समग्रीहरु समेत प्रदान गरिएको वडाका बाल फोकल पर्सन दुर्गा थापाले जानकारी गराए ।

तालिममा सिंहदेवी आधारभुत विद्यालय, कन्या आधारभुत विद्यलाय, श्री कालिका आधारभुत विद्यालय, पञ्चकन्या आधारभुत विद्यालय, शिक्षा ज्योति आधारभुत विद्यालयका शिक्षक प्रतिनिधि र वडा बाल संजालका विद्यार्थीहरुको सहभागिता रहको थियो । तालिममा वडा सचिव कविराज न्यौपानेले बालबालिका लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउने विचार व्यक्त गरे । कर्मचारीहरु ईश्वर लामिछानेले वडाको काममा अफुहरु दत्तचित भएर काम गरिरहेकोमा विद्यालयलाई पनि सहयोग गर्न आग्रह गरे । कार्यक्रममा कर्मचारी मुना श्रेष्ठ, प्रतिमा राई लगायतको पनि सहभागिता रहेको थियो ।