धरान: उपचारको क्रममा निधन भएका धरानका पुर्वमेयर ध्यानबहादुर राईको आज अन्त्येष्टी गरिएको छ ।

उनको पार्थिव शरीरको जन्मथलो खोटाङमा लगेर अन्त्येष्टी गरिएको हो । पुर्वमेयर ध्यानबहादुर राई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठका अनुसार आज दिउँसो करिब २ बजेतिर अन्त्येष्टी गरिएको हो । अन्त्येष्टीस्थल खोटाङको राबावेसी गाउँपालिका ३, चिउरीबासमा पर्छ । ‘उहाँको अन्त्येष्टी परम्परा र सँस्कार अनुसार भयो । उहाँलाई बुबा,आमाकै लहरमा राखिएको छ,’श्रेष्ठले जानकारी दिदै भने ।

क्यान्सरको उपचारको क्रममा पुर्वमेयर राईको हिजो सोमबार ६० बर्षको उमेरमा निधन भएको थियो । उनको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा मध्याहन साढे १२ बजे निधन भएको थियो । परिवारजनको सल्लाह अनुसार जन्मथलो खोटाङमा अन्त्येष्टी गर्न पार्थिव शरीर लगिएको थियो । पुर्वमेयर राईको साथमा श्रीमति कोपिला, एक छोरा र एक छोरी छन् ।

उनी विगत एक बर्षदेखि क्यान्सर रोगको उपचार गरिरहेका थिए । उनलाई स्क्वामस सेल क्यान्सर भएको थियो । गएको बर्षदेखि नै भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उनी उपचारमा थिए । तर, त्यहाँका चिकित्सकहरुले अब उपचारबाट सम्भव नहुने भनेपछि सल्लाहमा नै उनलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो ।

पुर्वमेयर राई तत्कालिन नेकपा एमालेबाट २०४९ सालमा धरानको मेयरमा निवार्चित भएका थिए । उनी निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमा होमिएका थिए । धरानका लोकप्रिय, मिलनसार र दुरदृष्टि राख्ने नेताकोरुपमा उनी परिरिचत थिए । साथै, उनी निर्णय लिनसक्ने र सबैलाई साथ लिएर हिड्नसक्ने क्षमताका नेता थिए ।