विराटनगर: लामो समयदेखि अडिटको काम गर्दै आएका विराटनगरका ५० बर्षीय प्रवल घिमिरेको खोलामा डुबेर मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका २ का बासिन्दा घिमिरेको शव आज बिहान सिंघिया खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयबासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । उनी हिजो सोमबार साँझदेखि घर आएका थिएनन् । घर नफर्किए पछि आफन्तले खोजतलास गरिरहेका थिए । मृतक घिमिरेको विराटनगरमा प्रवल एण्ड एसोसिएट फार्म रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी लोकदर्शन थापाका अनुसार घिमिरेको साथबाट पर्स र मोटरसाइकलको चाबी पनि फेला परेको छ । उनी कपडा र जुत्ता लगाएको अवस्थामा मृत छन् । प्रहरीले घिमिरेको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ भने घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।