मकवानपुरः मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक होटलमा बास बसेका ८ भारतीय पर्यटकहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ बालबालिका छन् ।

थाहा नगरपालिका ४, सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा उनीहरु बेहोस अवस्थामा भेटिएका थिए । अचेत भेटिएका उनीहरुलाई उपचारको लागि अस्पताल पुर्याइए पनि डाक्टरहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाउको छ । मृत्यु हुनेहरु सबै भारतको केरला निवासी छन् । जिल्ला प्रहरी प्रमुख एवं एसपी सुशिल सिंह राठौरका अनुसार मृत्यु हुनेमा करिब पाँच वर्षीय अभी, सात वर्षीया अर्चना, पाँच वर्षीय बैशनव, नौ वर्षीया बन्द्रा, ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया ईन्द्र, ३७ वर्षीय प्रबिण र ३२ वर्षीया सरिया रहेका छन्।

उनीहरु आज बहिान करिब साढे ९ बजे कोठामा वेहोस अवस्थामा भेटिएको खबर प्रहरीमा पुगेको थियो । तत्कालि सिमभञ्ज्याङ्ग चौकी र ईलाका प्रहरी कार्यालय पालुङको टोलीले उद्दार गरेर उपचारको लागि काठमाण्डौं पुर्याएको थियो । सोमबार राति दुई अलग कोठामा बास बसेका उनीहरु मंगलबार बिहान भने एउटै कोठामा बेहोस अवस्थामा भेटिएका थिए । उनीहरुलाई तत्कालि हेलिकप्टरबाट उपचारको लागि काठमाण्डौं लगिएको थियो ।

मृतकहरु पोखराबाट घुम्नको लागि दामन आएका थिए । सोमबार राति १५ जनाको टोली करिब ९ बजे होटलमा पुगेका थिए । मृतकहरुले चिसोबाट जोगिन कोठाको झ्याल पनि बन्द गरेर हिटर चलाएको र निसासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको थियो । मृतकहरुको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्ट गरिने प्रहरीले जनाएको छ ।