इटहरी । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा राखेर अनुसन्धान गर्न दिएको जिल्ला अदालत सुनसरीको आदेश उच्च अदालत विराटनगरले बदर गरेको छ । धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेशलाइ बदर गर्दै उच्चले थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको हो ।

आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका कृष्णबहादुर गिरी "सिद्धबाबा" लाई जिल्ला अदालत सुनसरीले पुसमा धरौटीमा छोड्न आदेश दिएको थियो । दुई दिनसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले गिरीलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

तर बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो ।

आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए ।