काठमाडौं : ताप्लेजुङको फुङलिङ नगरपालिकाकी चन्द्रकला श्रेष्ठको नाममा रहेको साढे ९ रोपनिी जमिनको एकिकृत सम्पति कर १० हजार २ सय रुपैयाँ थियो ।

पुस मसान्तसम्म तिरे छुट हुने भएकाले उनका छोरा राजेन्द्र र भूपेन श्रेष्ठले ९ हजार ५ सय रुपैयाँ तिरे । उनीहरुले गत वर्ष यही जग्गाको कर २ हजार ९ सय रुपैयाँ तिरेका थिए । नगरपालिकाको भिन्तुनाडाँडा क्षेत्रमा रहेको जग्गाको वार्षिक कर चन्द्रकला आफैले तिर्ने हो भने सक्दिनन् ।

उनको यो जमिनमा नगरपालिकालाई कर तिर्न पुग्ने बराबरको पनि अन्न उत्पादन हुदैंन । अन्नबाहेक अरु खेती लगाउने उपाय छैन् । कर तिर्नका लागि चन्द्रकलाले घडेरीका रुपमा जग्गा बेच्नुपर्छ । “मन्दीका कारण अहिले घडेरी पनि बिक्दैन छोरा राजेन्द्रले भने, नगरपालिकाको कर त अति भयो ।” उनले यतिका कर आफूहरुले बार्षिक रुपमा तिर्न नसक्ने जानकारी नगरपालिका प्रमुखदेखि अधिकृतसम्मलाई गरााएको बताए । -कान्तिपुर दैनिकबाट