धरान: प्रदेश नं १ को प्रदेशसभाको उद्योग, पर्यटन तथा वन समितिका सांसदहरुले मंगलबार धरान १४, विजयपुरस्थित धार्मिक पर्यटकीयस्थलहरुको अवलोकन गरेका छन् । त्यसक्रममा समितिले सरोकारवाला स्थानीय एवं जनप्रतिनिधिहरुसँग छलफल पनि गरेको छ ।

पर्यटकीय क्षेत्र विजयपुरको समस्या, चुनौती र सम्भावनाबारे अध्ययन गर्न समितिका सभापति सीता थेवे जगेवुको नेतृत्वमा सदस्य सांसदहरु धरान आएका थिए । स्थलगत अवलोकन पछि छलफलमा विजयपुरको धार्मिकस्थलको समस्या र सम्भावनाहरुको बारेमा छलफल भयो भने स्थानीयहरुले मन्दिरको भेटी पारदर्शी नभएको बारे पनि कुरा राखेका थिए । छलफलबाट विजयपुरको धार्मिक पर्यटनको प्रचुर सम्भावना र नीतिगत समस्या देखिएको उल्लेख गर्दै सभापति थेवेले यो समाधान गर्न मन्त्रालयलाई निर्देशन दिइने बताइन् । ‘विजयपुरक्षेत्रको धार्मिक पर्यटनलाई कसरी उपयोग गर्न सकिन्छ ? यहाँको चुनौती र सम्भावनाहरु के छन् ? यसबैबिषयमा छलफल गर्न आएका थियौं,’सभापति थेवेले कपुरीन्यूजसँग मोवाइल सम्पर्कमा भनिन्,‘जनप्रतिनिधि र स्थानीयसँग पनि छलफल गर्यौं । नीगित समस्या भएको पायौं, त्यो हल गर्न मन्त्रालयलाई निर्देशन दिन्छौं ।’

bijaypur-ma

उनका अनुसार मन्दिरको व्यवस्थापन समितिले आय आर्जन कम भएको कुरा राखेका थिए भने समितिमै भएका र अन्य स्थानीयले मन्दिरमा चढेको भेटी पारदर्शी नभएको गुनासो राखेका थिए । समितिको अध्यक्षमा मुल पुजारी र सदस्य सचिवमा सहायक पुजारी रहने व्यवस्थाले गर्दा मन्दिरको भेटी अरु सदस्यहरुलाई पनि थाह नहुने गुनासो आएको सभापति थेवेले बताइन् । ‘मन्दिरको भेटी, आयको पारर्शिताको कुरा उठ्यो । पारदर्शी हुने हो भने त्यही भेटीले पनि धार्मिक क्षेत्रमा धेरै विकास गर्न सकिन्छ भन्ने देखियो, तर नीतिगत सुधार हुनुपर्ने छ, मन्त्रालयमा यसबारे निर्देशन दिन्छौं,’उनले भनिन् ।

वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भटराईले आफुहरुले धार्मिक पर्यटन विकास र प्रर्वद्धनसँगै अन्य पुर्वाधार, स्वास्थ्य, शिक्षामा पनि लागनी गर्न आग्रह गरिएको बताए । ‘स्थानीयतहको बजेटले मात्र सम्भव छैन, प्रदेश र केन्द्रबाट पनि लगानी हुनुपर्छ भन्यौं,’उनले भने । दन्तकाली मन्दिर व्यवस्थापन समितिका मुल पुजारी रमेश खनाले मन्दिरको भेटी तथा आयले नित्य पुजा, व्यवस्थापन, सरसफाईलगायतमा खर्च हुने गरेको बताएका थिए । समितिका सदस्यहरुले किरात दरबार क्षेत्रको पञ्चकन्या जंगल पनि अवलोकन गरेको थियो ।तस्बिर स्रोत: मणीसुन्दर खत्री