धरान: कोरोना भाइरस संक्रमण भएको आशंकामा राजधानीको टेकु अस्पताल रिफर भएका धरानका एक विरामीलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

कोरियाबाट करिब एक साताअघि घर फर्किएका ती व्यक्तिलाई ३ दिनदेखि निरन्तर उच्च ज्वरो र घाँटी दुखेपछि प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गर्न पुगेका थिए । प्रतिष्ठानका चिकित्सकहरुले उनलाई कोरोना संक्रमणको आशंकामा टेकु रिफर गरेको थियो । उपचारको लागि टेकु पुगेका ती विरामीको वाइट ब्लड सेल बढेको र छातीको एक साइडमा इन्फेक्सन भएर निमोनिया भएको पाइएको छ ।

विरामीका श्रीमतिले कपुरीन्यूजसँग मोवाइल सम्पर्कमा आफ्नो श्रीमान्को स्वास्थ्य जाँचपछि कोरोना भाइरस होइन भन्ने रिपोर्ट आएको बताइन् । त्यसैले अस्पतालले विरामीलाई आइसोलेसनमा नराखी जनरल वार्डमा नै राखेर उपचार गरेको थियो । ‘वाइट ब्लड सेल बढेको र छातीमा एक साइडमा इन्फेक्सन भएर निमोनिया भएको रहेछ, कोरोना होइन भन्ने रिपोर्ट आइसकेको छ,’उनले भनिन्,‘विरामी एकदम फिट हुनुहुन्छ, नर्मल भइसक्नुभयो । आज डिस्चार्ज गर्न डाक्टरले नभ्याएर आइतबार भोली हुदैछ ।’

उनले वीपी प्रतिष्ठानजस्तो ठुलो अस्पतालले पनि यति सामान्य कुरा पनि पत्ता नलगाई रिफर गरेर अनावश्यक तनाव दिएको उनले बताइन् । कतिपय मिडियाहरुमा विरामीको पहिचान खुल्ने गरी नाम,ठेगानासमेत उल्लेख गरेर समाचार प्रकाशन भएर आफुहरुले ठुलो मानसिक तनाव खेप्नुपरेको पनि उनले बताइन् । ‘सजग गराउनको लागि समाचार लेख्नु ठिक छ, तर नाम पनि खुलाएर हुदै नभएको कुरामा तनाव दिने काम भयो,’असन्तुष्टी पोख्दै उनले भनिन् ।