ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा कमिसन मागको आरोपमा युवा पक्राउ शीर्षकको समाचार छापिएको छ । विराटनगर १३ स्थित बखरी आधारभुत विद्यालयको भवन निर्माणको क्रममा कमिसन मागेको आरोपमा एकजना युव पक्राउ परेका छन् । विराटनगर १२ बखरीका २५ वर्षीय भोला कामत विद्यालयको भवन निर्माणमा कमिसन मागेको आरोपमा आइतबार पक्राउ परेका हुन् । ३५ लाख रुपैयाँ लागतमा बखरी आधारभुत विद्यालयको ४ कोठे भवन गत माघ १७ गतेदेखि निर्माण भइरहेको छ । उपभोक्ता समितिमार्फत् निर्माण भएको उक्त विद्यालयको चार कोठे भवन निर्माणमा कामतले विद्यालयका प्रधानाध्यापक गीता खड्कासँग कमिसन मागेको आरोप छ । संघीय मामिला तथा सामान्य मन्त्रालयको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत ३५ लाख रुपैयाँ बजेट विनियोजन भएपछि बखरी आधारभुत विद्यालयको भवन निर्माण बजेट छुट्टिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र कामतको उपभोक्ता समिति बनेर उक्त भवन निर्माण भएको हो ।

यसैगरी आजकै ब्लाष्टमा प्रभावकारी बन्यो स्थानीय पाठ्यक्रम शीर्षकको समाचार पनि छापिएको छ । झापाको बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षदेखि नगर क्षेत्रका सबै विद्यालयमा ‘आचरण सचेतना शिक्षा’ तयार गर्दै लागू गरेको स्थानीय पाठ्यक्रम निकै प्रभावकारी देखिएको छ । बिर्तामोड नगरपालिकाभित्र रहेका १८ वटा सामुदायिक विद्यालय र ५६ वटा संस्थागत (निजी) सहित ७४ वटा विद्यालयमा आचरण सचेतना शिक्षाको पठनपाठन हुँदै आएको छ । नगरपालिकाले गत आव २०७५र७६ मा रु छ लाख बजेट विनियोजन गर्दै ‘आचरण सचेतना शिक्षा’ नगरका सबै विद्यालयमा लागू गर्न स्थानीय पाठ्यक्रम तयार गरेको थियो । नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम शैक्षिकसत्र २०७६ देखि लागू भएको छ । स्थानीय पाठ्यक्रम सबै विद्यालयमा लागू भएपछि विद्यार्थीलाई संस्कार संस्कृति सिकाउन सहज भएको अनारमनी प्राथमिक विद्यालयका प्रधानाध्यापक टङ्क कटुवालले बताए । ‘आचरण सचेतना शिक्षा’को पाठ्यक्रममा व्यावहारिक शिक्षासँगै धार्मिक ज्ञान, संस्कार, संस्कृति, परम्परागत रीतिरिवाज, धार्मिक सहिष्णुता, बाटो प्रयोग गर्दा अपनाउनुपर्ने सवारी नियम, जैविक खानाको महत्व तथा विषादीयुक्त खानाबाट हुने हानी नोक्सानीलगायत विषयवस्तुलाई समेटिएकाले व्यावहारिक शिक्षा सिकाउन सहज भएको प्रधानाध्यापक कटुवालको भनाइ छ । कक्षा ३ र ४ मा अध्ययन गर्ने विद्यार्थीका लागि तयार गरिएको पुस्तकभित्र पोषण, स्वास्थ्य, योग, स्थानीय लोकबाजा, सञ्चार, प्रविधि, वातावरण, प्राकृतिक प्रकोप, प्रदूषण नियन्त्रण, व्यक्तित्व विकासलाई समेत समेटिएकाले विद्यार्थीको आनीबानी सुधार्नसमेत सहज भएको प्रधानाध्यापक कटुवालले बताए ।

औजार : आजको औजार दैनिकमा एमसिसीबारे सुझाव समिति गठन शीर्षकको समाचार छापिएको छ । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) केन्द्रीय कमिटी बैठकले अमेरिकी सकयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन –एमसिसी) बारे सुझाव दिन नेकपा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । यही माघ १५ गतेदेखि सुरु भएको उक्त बैठकले आइतबार समिति गठन गरेको हो । समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेका छन् । एमसिसी अन्तर्गत अमेरिकाले नेपाललाई विद्युत र सडकमा खर्च गर्न ५५ अर्ब अमेरिकी डलर दिने सम्झौतामा उल्लेख छ । सम्झौतामा एमसिसीलाई संघीय संसदले अनुमोदन गर्नुपर्ने जनाइएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा कोरोना भाइरसबारे प्रदेश १ सरकार बेखबर शीर्षकको समाचार छापिएको छ । प्राणघातक नोवल कोरोना भाइरसको आतंकले संसार हल्लाइसकेको छ । विश्व स्वास्थ्य संगठनले त शंकटकालको घोषणा नै गरिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जेनेभामा हालै बसेको बैठकले शंकटकालको घोषणा गरेको हो । कोरोना भाइरसका विषाणु संसारभर यसरी फैलिरहेको छ कि दुई दर्जन जति देशमा यसबाट प्रभावित विरामी फेला परिसकेका छन् । त्यसैले यसलाई असाधारण घटना मान्दै विश्व स्वास्थ्य संगठनले शंकटकालको घोषणा गरेको हो र सबै देशलाई कोरोना भाइरसबाट जोगिन सतर्क रहन र जहाँ यसका रोगीहरु देखा परिसकेका छन् त्यहाँ रोग फैलिन नदिन अग्रिम सतर्कता अपनाउने भनिसकेको छ । संघीय सरकारले चीनमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन प्रक्रिया अगाडि बढाइसेको छ । र उनीहरुलाई नेपाल ल्याएपछि निगरानी अवधीभर राख्नका लागि ठाउँको आवश्यक व्यवस्था पनि मिलाइसकेको छ । सम्भावित स्थलहरुको पहिचान गरि चिकित्सकीय सुविधासहित दुई सातासम्म राख्नका लागि तयारी गर्न लागेको हो । अहिले यति धेरै चर्चामा रहेको र नेपालमा पनि नोवल कोरोना भाइरस संक्रमणका विरामी फेला परिसक्दा पनि प्रदेश १ सरकारले भने सो भाइरसबाट जोगिन केही पनि आवश्यक पूर्व तयारी गरेको पाइएको छैन । प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव बीरबहादुर राईका अनुसार सो विषयमा संघीय सरकारसँग सम्पर्क राखी आवश्यक सुझाव माग्दा केही पनि गर्नु पर्दैन भनेकाले प्रदेश सरकार चुप लागेर बसेको हो ।