हङकङ : चीनको वुहानबाट फैलिएको नोवेल कोरोनाभाइरसले हङकङमा पनि एक जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसको उपचार गरिरहेका ३९ वर्षीय एक पुरूषको मंगलबार बिहान मुटुले अचानक काम गर्न छोडेपछि मृत्यु भएको हो । ती पुरूष गत जनवरी २१मा वुहानबाट हङकङ फर्किएका थिए । जनवरी ३१ मा उनलाई कोरोनाभाइरसको लक्षण देखिएको थियो । त्यसपछि उनलाई प्रिन्सेस मार्गरेट अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उनको मृत्यु भएको हो ।

कोरोनाभाइरसका कारण चीनबाहिर मानिसको ज्यान गएको यो दोस्रो घटना हो । यसअघि गत साता फिलिपिन्समा पनि एक जना पुरूषको उक्त भाइरसका कारण मृत्यु भएको थियो । हुवेई प्रान्तको वुहानबाट डिसेम्बर अन्तिम सातादेखि फैलिएको कोरोनाभाइरसले चीनमा ४२५ जनाको मृत्यु भएको छ भने २० हजार भन्दा बढी प्रभावित भएका छन् ।