इटहरी : प्रदेश १ सरकारले प्राणघातक नोभल कोरोना भाइरसका संक्रमितलाइ उपचारको लागि आइसोलेटेड वार्ड बनाउने भएको छ ।

हरेक बिरामीलाई छुट्टै उपचार गर्ने मेची अञ्चल अस्पताल झापा, कोसी अञ्चल अस्पताल मोरङ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बिएन्डसी अस्पताल बिर्तामोड र विराटनगरका विराट मेडिकल कलेज टिचिङ अस्पताल तथा नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा राखिने सरकारले निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिम्मत कार्की, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर, प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारी लगायत सरोकारवालाहरूसँग आज बिहान बसेको बैठक पछि प्रदेश सरकारले चार निर्णय गरेको हो ।

साथै कोरोना भाइरसको बारेमा सचेतना फैलाउने, सबै सुरक्षा निकायसँगको सहकार्यमा प्रदेशका सबै जिल्लामा सतर्कता अभियान गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणबाट जोगिन प्रदेश १ का दुई चिनियाँ नाकाहरू बन्द हुँदा पर्न सक्ने खाद्यान्न असुविधाको व्यवस्थापनको लागी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वय गरेर समस्या समाधान गर्ने निर्णय भएको प्रदेश सरकारले बताएको छ ।