धरान : चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपले गर्दा किमाथांका नाका बन्द गरिदा संखुवासभा जिल्लाको उत्तरी शिङ्सा क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न संकट भएको छ ।

कोरोनाको प्रकोप नेपालमा पनि फैलन नदिन किमाथांका नाकाबाट आवातजावत ठप्प गरिएको छ । जसले गर्दा चीनको बजारमा निर्भर संखुवासभाको उत्तरी क्षेत्रमा खाद्यान्न अभाव भएको हो । चीनको डेन्दाङमा नेपाली नागरिक १४ जना रहेको थिए । ती सबैलाई फिर्ता गरिएको छ । ती मध्ये भोटखोला गाउँपालिकाका १२ जना र ताप्लेजुङ जिल्लाका २ जना छन् । डेन्दाङसम्म कोरोना भाइरस नआए पनि रोगबाट प्रभावित नहोस् भन्नको लागि आवतजावत रोकिएको हो । कोरोना भाइरसका कारण किमाथांका र चीनको डेन्दाङमा माघ ५ गतेदेखि आवातजावत ठप्प भएको हो ।

खाद्यान्न अभावलाई सहज बनाउन संखुवासभाको तुम्लिङटारबाट हेलिकप्टरमा खाद्यान्न ढुवानी गरिरहेको भोटखोला गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत फुर्पु भोटेले जानकारी दिएका छन् । उनका अनुसार सेनाको हेलिकप्टरबाट शनिबारदेखि खाद्यान्न ढुवानीको काम भइरहेको छ । तुम्लिङटारबाट ५ हजार किलो खाद्यान्न ढुवानी भएको उनले बताए । हेलिले सो खाद्यान्न चीनको सिमाना रहेको तत्कालीन किमाथांका गाबिस९हालको भोटखोला गापा वडा नम्बर १०को किमाथांकामा राखिएको छ । ढुवानी महंगो पर्ने हुनाले हाललाई नेपाल सरकारको तर्फबाट गाउँपालिकाको सामग्री व्यवस्थापनमा ढुवानी भएको हो।

किमाथांकामा हाल ८६ घरपरिवार रहेका छन् । त्यसैगरी सशस्त्र प्रहरी, जनपद प्रहरी, मकालु बरुण राष्ट्रिय निकुञ्जका कर्मचारी लगायतलाई उक्त खाद्यान्नले राहत पुग्ने बताइएको छ । ढुवानी महंगो भएका कारण आगामी दिनमा ट्याक्टरबाट नै च्याम्ताङसम्म खाद्यान्न लगिने गाउँपालिकाले जनाएको छ । हाल किमाथांकासम्म ट्याक खोल्ने काम हुदैछ भने ट्याक च्याम्ताङ्सम्म पुगेको छ । त्यहाबाट किमाथांका जोड्न १४ किलोमिटर मात्र बाँकी छ।