झापा - कच्चा पदार्थ तथा दक्ष कामदारको अभावका कारण साना उद्योग बन्द हुने अवस्था रहेको झापाका फर्निचर तथा फिर्निसिङ व्यवसायीहरुले बताएका छन् ।

फर्निचर तथा फिर्निसिङ व्यवसायीहरुको हकहितका लागि गठन भएको फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाको छैटौ बार्षिक साधारणसभामा उपस्थित व्यवसायीहरुले यस्तो बताएका हुन् । खुल्ला सिमानाका कारण भारतीय फर्निचरले नेपालमा उत्पादित फर्निचरका सामानलाई बिस्थापित गर्ने अवस्था आएको व्यवसायीहरुले टीप्पणी गरेका छन् ।

युवाहरुलाई आवश्यक तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सके स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने संघका अध्यक्ष चन्द्रप्रसाद गिरीले बताएका छन् । उद्योगी ब्यवसायीले राज्यको ब्यवस्था अनुसार कानूनको मापदण्डमा रहेर काम गर्नु पर्नेमा अध्यक्ष गिरीले जोड दिए ।

उनले बाह्य हस्तक्षेप र अबैधानिक रुपमा काम नगर्न सवै व्यवसायीलाई सुझाव दिए । ‘उद्योगी व्यवसायीहरुको हित युवा स्वरोजगारको दिगो व्यवस्थापन ’ भन्ने नाराका साथ शनिवार कनकाई नगरपालिकास्थित धनुषकोटीमा साधारणसभा सम्पन्न भएको थियो । संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन बन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।