मुम्बई : बलिउड फिल्म जगतका प्रसिद्ध फोटोग्राफर डब्बू रतलानीको ग्ल्यामर क्यालेन्डरको लन्च गरिएको छ । उक्त क्यालेन्डर लन्च कार्यक्रममा अभिनेता कबीर बेदीले सनी लियोनको मोबाइल नम्बर मागेको केही समाचार संस्थाहरुले लेखेका छन् ।

उक्त समाचारपछि कबिर बेदी र सनीका पति ड्यानियल बेभरले ट्विट गर्दै समाचारको खण्डन गरेका छन् । कबीरले ट्विटमा सनीको नम्बर नमागेको बताएका छन् । उनले आफूलाई बदनाम गर्नको लागि यस्तो हल्ला फैलाइएको जिकिर गरेका छन् । उनले उक्त पार्टीमा सनीका पतिको नम्बर मागेको र उनका पतिले आफै नम्बर डायल गरिदिएको उल्लेख गरेका छन् । उनले यस्तो हल्लारुपी समाचार हटाउन र माफी माग्न आग्रह गरेका छन् ।

यसैबीच, सनीका पति ड्यानियलले पनि कबिरको ट्विटमा जवाफ दिएका छन् । उनले भनेका छन्, ‘के कबिर मेरो नम्बर माग्न सक्दैनन् र ? कबिर र सनी एक अर्कालाई लामो समयदेखि चिन्छन् । त्यसैले कबिरसँग सनीको नम्बर पहिले नै छ । मात्र एउटा कथाको लागि यति गलत समाचार दिन जरुरी छैन ।’

ड्यानियलको प्रतिक्रियामा कबिरले ‘धन्यवाद’ भनेका छन् ।