इटहरी : बिहिबार बिहान भारतमा नेपाली तीर्थयात्रु बोकेको बस दुर्घटनामा पर्यो । दुर्घटनामा इटहरी उपमहानगरपालिका वडा नम्बर १० का ६ सहित १० जनाको मृत्यु भयो ।

अहिले सिंगो गाउँ स्तब्ध भएको छ । शोकमा डुबेको छ । एकै टोलका छिमेकीको मृत्युको खबरले गाउँमा सन्नाटा छाएको छ । मृतकका परीवारको आँखा ओभाएका छैनन् । बरु गाउँलेको आखाँ रसाउन थालेका छन् । एउटै टोलका बिरबहादुर राई, गोपाल तामाङ, फूलसरी चौधरी, बुधनी चौधरी, टीकाराम चौधरी, रशिलाल चौधरीको दुर्घटनामा मृत्यु भयो । जसमध्ये रशीलाल र बुधनी चौधरी श्रीमान् श्रीमती हुन् । भने फुलसरी चौधरी रसीलालकी बहिनी हुन् । बुढेसकालमा तिर्थ जाने र धर्म कमाउने भन्दै हिडेका उनीहरु कहिल्यै नफर्कने गरी बिदा भए ।

रसीलालकै घरमा भेटीए शिवनारायण चौधरी । रसिलाल उनका ठुलाबाबु हुन् । बुधुनीदेवीका बहिनीका छोरा हुन शिवनारायण । उनलाई तिनतिरको शोक परेको छ । उनकी काकी फुलसरी देवीको समेत सोही यात्रामा मृत्यु भयो । फुलसरी रसिलालकी आफ्नै बहिनी हुन् । शिवनारायणका अर्का आफन्तको समेत सोही यात्रामा मृत्यु भएको छ । अहिले उनी सबैभन्दा ठुलो संकटमा छन् । एकै पटक तिन घरमा परेको चोटले आफुमाथी ठुलो बज्रपात भएको उनी सुनाउँछन् । ‘तिमी छौ हामी आउन्जेल रेखदेख गर्दै गर्नु भनेर गएका थिए ।, भावुक हुँदै उनी भन्छन्, "तर कहिल्यै नआउने गरी गएको भनेनन् । अहिले मलाई तिन तिरको भार परेकोछ ।"

रसीलालको घरमा बुहारी र नातीनीहरु मात्र छन् । ४ जना छोरा मध्ये दुई जना बाबु आमाको शव लिन गएका छन् । बाकी २ जना विदेशमा छन् । भएकी एउटी छोरी पनि यसअघि अल्पायुमै बितीन् । यता टिकारामको घरमा पनि त्यस्तै शोक छ । खबर सुन्ने बितीकै उनकी श्रीमती बेहोस् भएकी थिइन् । त्यसपछी गाउँलेले उपचार गर्न लगेको छ भन्दै उनलाई सान्त्वना दिइरहेका छन् । अहिलेपनि उनी बेलाबेला मुर्छा पर्ने गर्छीन् । गोपाल तामाङ यस अघिपनि परीवारसंग सल्लाह नगरी हिड्ने गर्थे । जसले जहाँ जाउँ भन्यो त्यही हिड्ने उनको बानी थियो । यसपाली पनि उनी यताउता जान्छु नभनी घरबाट निस्केका थिए । तर यसपालि भने घर छाडेको १५ दिनको दिन उनले संसारनै छाड्नुपर्यो ।

त्यसमध्ये बाँकी पवनलाल चौधरी, केदार चौधरी, वीरबहादुर राई, मञ्जु राईको समेत मृत्यु भइसकेको छ । माघ २३ गते इटहरीबाट छुटेको को १ ख ५३३४ नम्बरको गाडी भारतको सलेम बैंगलोर सडक खण्डमा दुर्घटना भएको थियो । मृतकका आफन्तका अनुसार होटेल खोज्न जाने क्रममा रोकीराखेको बसमा आएर ट्रकले ठक्कर दिएको थियो ।
मृतक मध्ये इटहरीका ६ जना सहित १० जनाको शव ल्याउने पहल गर्ने इटहरी उपमहानगरपालिकाले निर्णय गरेको छ । साथै मृतक ६ जनाको परीवारलाई राहत उपलब्ध गराउने महानगरले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।