इटहरी : इटहरी उपमहानगरपालिकाले पनि भोली (मङ्गलबार) शोक विदा दिने भएको छ । भारतको तामिलनाडु राज्यमा भएको दुर्घटनामा परी मृत्यु भएका इटहरीका ६ जनाको दाहसंस्कार आज सोमबार साँझ बुढीगंगा जमुना मुक्तिघाटमा सामुहिक दाहसंस्कार गरिएको छ ।

इटहरीमा भने नेकपा इटहरीको टोलीले बागडोरा एअरपोर्ट पुगेर शव ल्याएको थियो । टोलीमा नेकपाका तर्फबाट प्रदेश सांसद लिलम बस्नेत, नेकपा इटहरी अध्यक्ष बहादुरसिंह तामाङ, सचिव काशीनाथ दंगाल लगायत रहेका थिए । दमक नगरपालिकाको शव वाहन र झापा जिल्ला प्रहरीहरुको सहयोगमा शव ल्याइएको हो । बागडोरा एअरपोर्टसम्म प्लेनमा ल्याइने शव सिलगुडी हुँदै नेपाल ल्याइएको थियो ।

साँझ अबेर ल्याइएका शवलाई बाकसमा बन्द गरेर ल्याइएको थियो । तीर्थ यात्राको लागि भारत गएका नेपालीहरुको बस गत बिहीबार दुर्घटनामा परेको थियो । दुर्घटनामा इटहरीका ६ जना र विराटनगरका १ जना गरेर ७ जनाको मृत्यु भएको थियो । मृत्यु भएका ६ जना इटहरी वडा नं. १० निवासी हुन् ।