एजेन्सी : चीनबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमण अन्य देशहरुमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशकले संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएका छन् ।

चीनबाहेक अन्य देशमा पनि महामारीको रुपमा फैलिएको संक्रमणलाई महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले सबैभन्दा बढी चिन्ताको विषय रहेको बताए । उनले महामारीको रुपमा देखा परेको भाइरस जुनसुकै बेला पनि आफ्नो देशमा फैलन सक्ने भन्दै सावधानी अपनाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । उचित उपाय अपनाए त्यसको प्रकोप नियन्त्रण गर्न सकिने उनले बताए । पछिल्लो समय इरान, इटाली र दक्षिण कोरियामा तीव्र रुपमा फैलिइरहेको भाइरसका कारण मृतकको संख्या बढी रहेको समाचारमा जनाइएको छ ।

चीन बाहेक हालसम्म ४४ देशमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । भाइरसका कारण विश्वभर ८२ हजार भन्दा बढी प्रभावित भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोनाका कारण चीनसहित विश्वभर दुई हजार आठ सय भन्दा बढीको मृत्यु भइसकेको छ । ११ वटा युरोयिन देशहरुमा कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यस्तै दक्षिण कोरियामा पनि एक हजार सात सय भन्दा बढी संक्रमतिहरु देखा परेको समाचारमा जनाइएको छ ।