इटहरी : पूर्व मन्त्री रामकुमार सुब्बाले पैसा लिएर संविधान संशोधनको पक्षमा लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आरोप लगाएका छन् । सुब्बाको गृह नगर इटहरी आएर अध्यक्ष थापाले सुब्बामा पदलोलुपता र पैसा प्रतिको मोह देखिएको बताए ।

सुब्बा प्रति आक्रामक देखिएका थापाले सुब्बा दोश्रोपटक मन्त्री हुन नपाएको कारण पार्टी छाडेको आरोप लगाएका छन् । रामकुमारले पाएको सम्मानको दुरुपयोग गरे।, उनले भने, पहिलो पटक सांसद, मन्त्री र दलको उपनेता सम्म बनाए । दोश्रोपटक मन्त्री हुन नपाउने भएपछि उनले पार्टी नै छाडे । रामकुमार धोकेबाज मान्छे हुन । उनले नगरकोटमा गएर संविधान संशोधन गर्न पैसा लिएका छन् ।

धर्म परिवर्तनको डढेलोले पहाड देखि तराईसम्म सखाप पार्न लागेको अध्यक्ष थापाले बताएका छन । मिडिया नेपाल प्रदेश १ ले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले धर्म निरपेक्षताको नाममा धर्म परिवर्तन गर्ने खेल बढेको बताएका हुन् ।

सरकार प्रति आक्रामक रूपमा प्रस्तुत भएका उनले यो सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । भ्रष्टाचारको खबरदारी गर्ने संवैधानिक अङ्गमा पार्टी कार्यकर्ता नियुक्ति गर्ने देखि मन्त्रीपरिषद्को निर्णय गर्दै भ्रष्टाचारको छानबिन छल्न खोजिएको उनको भनाइ छ ।

सरकारका पछिल्ला गतिविधिले हिन्दु राज्य र राजसंस्थाको मार्गप्रसस्त गर्न थालेको बताए । आफ्नो पार्टीले हिन्दु राज्य र राजसंस्थाको एजेन्डा बोक्दा लज्जास्पद हार बेहोर्नु परेको स्मरण गर्दै उनले आफ्नै कमीकमजोरीको कारण निर्वाचनमा पराजित भएको स्पष्ट पारे । त्यहीँ बेला पार्टी विभाजन हुनु, नेपाली काँग्रेस सँगको सहकार्यमा धोका हुनु, पार्टी भित्रको भ्रम चिर्न नसक्नु र साधन श्रोता परिचालन गर्न नसक्नुले निर्वाचनमा लज्जास्पद हार भएको उनको बुझाई छ ।

राप्रपा नेपाल अहिले सङ्गठन निर्माण अभियानमा लागेको उनले बताए । महाधिवेशनको तयारीमा पार्टी लागेको उनको भनाइ छ ।