एजेन्सी : कोरोनाभाइरसका कारण अमेरिकामा पनि पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ ।

वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको छ । गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका एक ५० बर्षिय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।

ती पुरुषले कोरोना भाइरसको कुनै पनि उच्च जोखिमयुक्त क्षेत्रमा यात्रा गरेका थिएनन् । यो घटनापछि वाशिङटनमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ जोखिमयुक्त क्षेत्रको सम्पर्कमा नआएका व्यक्तिको पनि कोरोनाका कारण मृत्यु भएपछि अमेरिकी स्वास्थ्य अधिकारी चिन्तित भएका छन् । अमेरिकामा कोराना भाइरस संक्रमित व्यक्तिको संख्या ६२ पुगेको छ । उनीहरुको क्वारेन्टाइनमा राखी उपचार भइरहेको छ ।

यसअघि कोरोनाको उद्गमस्थल चीनको बुहानमा अर्का एक अमेरिकी नागरिकको मृत्यु भएको थियो । कोरोनाका कारण आफ्नो एक नागरिकको मृत्यु भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो अन्य सम्भावित घटनाहरु हुन सक्ने भए पनि अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको बताएका छन् ।

अमेरिकी नागरिकरुलाई इरान, इटली र दक्षिण कोरियाको भ्रमणमा भने रोक लगाईएको छ । विश्व स्वास्थ्य संगठनले विश्वका ५७ देशमा कोरोना भाइरस देखापरेको र झण्डै ३ हजार व्यक्तिको मृत्यु भइसकेको जनाएका छन् । ८५ हजार व्यक्ति संक्रमित भएका छन् ।