धरान : यही फाल्गुन २४ गते शनिबार तय भएको बी पी कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानको १३ औं दीक्षान्त समारोह अनिश्चितकालका लागि स्थगित भएको छ ।

कोरोना भाइरसका कारण प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको हो । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै तत्काललाई दीक्षान्त स्थगित गरिएको प्रतिष्ठानका कार्यबाहक उपकुलपति गुरु खनालले जानकारी दिए ।

कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर ल्याउने तयारीमा रहेको प्रतिष्ठानले ओलीको स्वस्थ्य समस्याको कारण स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्रमुख अतिथि बनाउने निर्णय गरेको थियो । प्रतिष्ठानमा ४ वर्षपछि दीक्षान्त हुन लागेको थियो । डा. खनालले सरकारले भेला तथा सम्मेलन नगर्न आह्वान गरेका कारण एक हजारभन्दा बढी सहभागी हुने दीक्षान्तलाई तत्काल स्थगन गरेको बताए ।

उनले कोरोना संक्रमणको अवस्था हेरेर पछि नयाँ मिति तोकिने जानकारी दिए । सहकुलपती समेत रहेका मन्त्री ढकाल आफैंले कुनै सभा, समारोह र हुलहुज्जत नगर्न आग्रह गरिसकेका छन् ।  दिक्षान्त समारोहमा १२ सय ७७ जना विद्यार्थी दिक्षित हुदै थिए ।