इलाम : छैटौ माईभ्याली गोल्डकपको सेमीफाइनल समिकरण पुरा भएको छ ।

अन्तिम क्वाटरफाइनल खेलमा आयोजक माईभ्याली फुटबल क्लबले पाहुना टोली कोलकत्ताको मोहम्मडन स्पोर्टिङ क्लबलाई २-१ ले पराजित गरेसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो । दोश्रो हाफको इन्जुरी समयमा सम्हालिन नसक्दा पाहुना टोली मोहम्मडन स्पोर्टिङ क्लबको यात्रा क्वाटरफाइनलबाटै समाप्त भयो । खेलको सुरुवातमै गोल खान पुगेपछि पाहुना टोली दबाबमा परेको थियो । खेलको चौथो मिनेटमा जुनियर ओङगुइनेले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा आयोजकका गोलरक्षक देव लिम्बुले पेनाल्टी एरिया बाहिर बल नियन्त्रणमा लिएपछि पाएको अवसरमा केरिमे बनार्डले खेल बराबरीमा ल्याए । दोश्रो हाफको इन्जुरी समयमा पाएको अवसरमा फ्रिकिक प्रहारलाई गोलमा परिणत गर्दै आन्द्रे थिएरी बियाकले घरेलु टोलीलाई सेमीफाइनल पुर्याए ।

खेलमा दुवै टिमले आधा दर्जन बढी मुभहरुलाई गोलमा परिणत गर्न सकेनन् । २० औ मिनेटमा पेनाल्टी एरिया भित्रबाट आयोजकका कप्तान विशाल तामाङको प्रहार फ्रेममा पर्न सकेन् । ३१ औ मिनेटमा माईभ्यालीका मनिष थापाको प्रहार बाहिरियो । ५७ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा माईभ्यालीका जोर्डन जुनियर डेको प्रहार गोलरक्षक सदिक उदिनले बचाए । २५ औ मिनेटमा मोहम्मडेनका लैसम डोलर सिंहको प्रहारलाई गोल लाइन नजिकैबाट बियाकले बचाए । खेलको म्यान अफ दि म्याच घरेलु टोलीका बियाक घोषित बन्दै नगद १० हजार प्राप्त गरे ।

खेलपछि प्रतिक्रिया दिँदै दुवै टिमका प्रशिक्षकले सन्तुष्ट रहेको प्रतिक्रिया दिए । मोहम्मडनका प्रशिक्षक मुरारी करले दुवै टिमको खेल उत्कृष्ट भएको प्रतिक्रिया दिए । सुरुवाती ११ का महत्वपुर्ण खेलाडी नहुँदा हार्नु परेको बताए । ‘अन्तिम इन्जुरी समयमा गोल खानु दुर्भाग्य बन्यो ।’ उनले भने ‘ धेरै चतु¥याईपुर्वक विदेशी खेलाडीले फ्रिकिकमा गोल गरेपछि हामी पराजित बन्यौ ।’

यता बिजेता टिमका प्रशिक्षक दर्शन भक्तराजले घरेलु मैदान र सुरुवाती गोलका कारण जित निकाल्न सफल भएको बताए । ‘ छनौट गरिएको टिम र घरेलु मैदान जितको आधार बन्यो । ’ उनले भने ‘ तयारी लामो समय गर्न नपाएपनि ए डिभिजन लिगको अनुभव बटुलेको खेलाडी भएकाले जित निकाल्यौ । ’ जितसंगै आयोजकले फाइनल प्रवेशका लागी विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा भोली लिग बिजेता मछिन्द्र र दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबको सामना गर्नेछ ।