इलाम : घरेलु मैदानमा पहिलो पटक सेमीफाइनल पुगेको आयोजक माईभ्याली फुटबल क्लब र पहिलो संस्करणको विजेता विभागिय टोली त्रिभुवन आर्मी इलाममा जारी माईभ्याली गोल्डकपको उपाधि होडमा आज प्रतिस्पर्धा गर्दैछन् । ठुलो टुडिखेलमा जारी प्रतियोगितामा घरेलु टोली ए डिभिजन लिगको अनुभव बटुलेका खेलाडीहरु सहित मैदान उत्र्ने तयारीमा छ । आयोजकका तर्फबाट एनआरटी क्लबका ३ जना अफ्रिकन सहित १० जना खेलाडीले ए डिभिजन लिगको अनुभव बटुलेका छन् । सेमीफाइनलसम्म पुग्नका लागी आयोजक टोलीले पाहुना टोली ग्यान्टोक सिटिलाई २-० र कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडन स्र्पोटसलाई २-१ ले हराएको थियो ।

छैटौ संस्करणसम्म आइपुग्दा आयोजकले सेमीफाइनल सम्म स्थान बनाउन सकेको थिएन् । आर्मी विरुद्ध जित निकाल्दै पहिलो पटक घरेलु मैदानमा उपाधि होडमा पुग्ने आयोजकको लक्ष्य रहेको छ । चौथो संस्करणमा कास्की-११ लाई पराजित गरेर क्वाटरफाइनल पुगे यता आयोजक टोलीको प्रर्दशन पहिलो पटक स्तरिय देखिएको हो । यता विश्वकप छनौटका लागी राष्ट्रिय टोलीका क्लोज क्याम्पका कारण पहिलो संस्करण बिजेता आर्मी दोश्रो रोजाईका खेलाडी सहित मैदान उत्र्दैछ । यदपी आर्मीबाट राष्ट्रिय टोलीमा स्थान बनाइसकेका जितेन्द्र कार्की, टंक बस्नेत, सन्तोष तामाङ उमेर समुहका विवेक बस्नेत सहित मैदान उत्र्दैछ । आर्मीले सेमीफाइनल प्रवेशका लागी अर्को ए डिभिजन क्लब संकटालाई हराएको थियो । आर्मी लिगको उपविजेता टोली समेत हो ।

आगामी फागुन २४ गते हुने फाइलन खेलका लागी लिग बिजेता मछिन्द्रले स्थान बनाइसकेको छ । उसले मानेभञ्ज्याङ फुटबल क्लबलाई हरायो । प्रतियोगिताको बिजेताले नगद ८ लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीलाई यस संस्करणबाट नगद नै प्रदान गरिने छ । यसअघिका ३ संस्करणको उत्कृष्ट खेलाडीले बाइक वा स्कुटर प्राप्त गर्दै आएका थिए । विधागत रुपमा समेत पुरस्कार प्राप्त गरिनेछ ।