झापा : कोरोना भाइरस भित्रन नदिन झापाको चन्द्रगढी विमानस्थलमा आजदेखि कोरोना भाइरस ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ ।

भारतलगायत तेस्रो देशका मानिसको समेत आवत–जावत हुने विमानस्थलमा कारोना भाइरसविरुद्ध सचेतना अपनाउँदै हेल्थ डेस्क स्थापना गरिएको हो । भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ आजदेखि सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण भद्रपुरका प्रमुख पूर्णप्रसाद चूँडालले जानकारी दिएका छन ।

विमानस्थलको यात्रु बाहिरने र भित्रिने स्थानमा डेक्स राखेर इन्फोरेट थर्मामिटर (ज्वरो नाप्ने यन्त्र)बाट आउने जाने यात्रुको ज्वरो नापिने स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले बताउनुभयो । ९८ दशलमलब ६ डिग्रीभन्दा माथि तापक्रम भएका यात्रुलाई परामर्शसहित यात्रा नगर्न सल्लाह दिइने र १०० डिग्रीभन्दा बढी ज्वरो आएको, नाक मुखबाट र्र्याल सिंगान बगेको पाइएमा एम्बुलेन्समा राखेर धरान स्थित वीपी प्रतिष्ठान पठाइने उनले बताए।