इलाम :  गोलरक्षक देव लिम्बुको उत्कृष्ट प्रदर्शनका कारण पहिलो पटक आयोजक माईभ्याली फुटबल क्लब इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

देवले पेनाल्टी सुट आउटमा सन्तोष तामाङको बल बचाएका थिए । जुन घरेलु टिमका लागी फाइनल पुग्ने अवसर बन्यो । निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ भएको थियो । त्यसपछि थपिएको २० मिनेटमा गोल हुन नसकेपछि निर्णयका लागी पेनाल्टी सुट आउट रोजिएको थियो । पेनाल्टी सुट आउटमा आयोजकका प्रिजन तामाङ, पासाङ तामाङ र इला क्षेत्रीले गोल गरेका थिए । कप्तान विशाल तामाङको प्रहार फ्रेममा पर्न सकेन । शरण बस्नेतको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाएका थिए । आर्मीका दीपक गुरुङ, राजीव गुरुङ र दीप लामाको प्रहार गोलमा परिणत हुँदा विकाश तामाङको प्रहार बाहिरिएको थियो । टाइव्रेकरमा ३-३ गोल भएपछि सडन डेथबाट निर्णय गरिएको थियो । सडनडेथमा आयोजकका लागी गोलरक्षक देव र अफ्रिकन खेलाडी एन्ड्रे थिएरी बियाकले गोल गरेका थिए । आर्मीका राजु आलेको प्रहारले जाली चुम्दा भरत चौधरीको प्रहार आकासिएपछि आयोजक घरेलु मैदानमा पहिलो पटक उपाधि होडमा प्रवेश गर्यो ।

खेलको ३४ औ मिनेट आयोजकले सुरुवाती अग्रता लिएको थियो । आर्मीका गोलरक्षक विवश चौधरी विट भइसकेको अवस्थामा करन राईले आयोजकका लागी पहिलो गोल गरे । त्यसको ७ मिनेट नबित्दै आर्मीले खेल बराबरीमा ल्यायो । आयोजकका एन्ड्रे थिएरी बियाकले आर्मीका विवेक बस्नेतलाई फाउल हानेपछि पाएको फ्रिकिकको अवसरलाई सन्तोष तामाङले सिधै जाली चुमाउँदै खेल बराबरीमा ल्याए । खेलको ९६ औ मिनेटमा आर्मी १० खेलाडीमा सीमित बन्यो । विवेक बस्नेत दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपछि आर्मी दबाबमा परेको थियो । खेलको २८ औ मिनेटमा आयोजकका शरण बस्नेतलाई फाउल हानेर पहिलो कार्ड पाएका विवेकले पुनः ९६ औ मिनेटमा शरणलाई नै फाउल गरेपछि दोहोरो कार्ड पाए ।

खेलमा दुवै टिमले केही राम्रा मुभहरुलाई सदुपयोग गर्न सकेनन् । १६ औ मिनेटमा आयोजकका मनकुमार राईको प्रहार सहजै आर्मीका गोलरक्षकले नियन्त्रणमा लिए । १८ औ मिनेटमा आर्मीका विकाश तामाङले गोलरक्षक विट भइसकेको अवस्थामा गोल लाइनबाट बल बचाए । ७१ औ मिनेटमा मनकुमारको प्रहार आकासियो । खेलको २५ औ मिनेटमा आर्मीका विवेक बस्नेतको प्रहारलाई आयोजकका गोलरक्षक देव लिम्बुले पञ्च गर्दै बचाए । ३१ औ मिनेटमा आर्मीका टङ्क बस्नेतले पेनाल्टी एरियाभित्रबाट गरेको प्रहारलाई गोलरक्षक देवले मुस्किलले बचाए । ८७ औ मिनेटमा विवेक बस्नेतले रिवाउन्डमा पाएको अवसरलाई आयोजकका गोलरक्षक देवले क्लियर गरिदिए ।

Mai-Vally-Logo खेलपछि प्रतिक्रिया दिँदै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले ५०/५० को अवस्थामा रहेको खेलमा आयोजकका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेपछि पराजित बनेको बताए । उनले पहिलो हाफको तुलनामा दोस्रो हाफमा उत्कृष्ट खेले पनि पाएको अवसरलाई सदुपयोग गर्न नसकेको बताए । ‘ मिस कम्युनिकेसनका कारण पहिलो गोल खान पुगेका थियौ तर सन्तोषले खेल बराबरीमा ल्याए ।’ उनले भने ‘ खेलाडीहरूको इन्जुरीको समस्याका कारण चाडै खेलाडी परिवर्तनले अन्तिम समयमा दबाबमा पर्यौं ।’
यता आयोजकका प्रशिक्षक दर्शन भक्तराज कलेक्सन टिमले अपेक्षा गरेभन्दा पनि राम्रो खेलेको बताए । ‘पाएको केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा जितका लागी सडनडेथ सम्म पुग्नु पर्यो ।’ उनले भने ‘खेलाडीहरूको रिलिज क्लियरेन्स नहुँदा केही दबाब थियो । वर्क पर्मिट नभएकाले २ जना अफ्रिकन खेलाडी मैदान उर्तान नपाउँदा दबाब परेको थियो । ’

आयोजक टिमलाई सेमिफाइनल सम्म पुर्याउन योगदान दिएका जुनियर ओङगुइने र जोर्डन जुनियर डे को वर्क पर्मिट नहुँदा खेल मैदानमा देखिएनन् । शिशिर लेखी, पदम भट्टराई र मनिष थापा समेत इलामको टिममा देखिएनन् । शिशिर र पदम बिग्रेड व्वाइज क्लबबाट आहा रारा गोल्डकपका लागी पोखरा गएका छन् । मनिष यस महिना ३ भन्दा बढी गोल्डकप प्रतियोगितामा सहभागिताका कारण टिममा राखिएको थिएन । उपाधि भिडन्तका लागी आयोजकले लिग विजेता मच्छिन्द्र क्लबसँग फागुन २४ गते प्रतिस्पर्धा गर्नेछ ।