धरान : आज फागुन महिनाको शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेको छ ।

यो परम्परालाई यसपटकको विश्वव्यापी फैलिरहेको कोभिड १९ कोरोना भाईरसले असर गरेको छ । कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको त्यस्तो रौनक हुने छैन । सरकारले ठूला सभा, समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको छ ।

सामुहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर लोलापानी फ्याँक्ने, रंग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हुँदा यस्ता गतिबिधि नगर्न अनुरोध गरेको छ ।

यो संगै जिल्ला प्रशासन कार्यालय, स्थानिय निकायले पनि यस अघिनै सुचना जारी गरी होली पर्व ठुलो समुह र भेला भएर नखेल्न आग्रह गरेको छ । पारिवारिक होली खेलेर यसपटकको होली मनाउन भनेर स्थानिय निकायहरुले पनि आव्हान गरेका छन् ।
टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रबक्ता प्रा. डा. अनुप बास्तोलाले पनि पहिलेका वर्षहरुमा जस्तो यसपटक जमघट भएर होली नखेल्न आग्रह गरेका छन् ।

भिडभाडमा जाँदा र पानीमा भिज्दा सङ्क्रमणको डर हुने भएकाले सजक हुन उनको आग्रह छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन जरुरी रहेको डा. बास्तोलाको भनाई छ ।

कोरोना संक्रमणको जोखिमका कारण जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला भर कुनै पनि ठाउमा जमघट गरेर होली पर्व नमनाउन आव्हान गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जाकारी दिएका छन् । त्यही आव्हान अनुसार धरानमा इलाका प्रहरी कार्यालय धरानले विगत जस्तो जमघटमा होली नमनाउन भन्दै माईकिङ गर्देगरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए । यदी त्यस्तो भीड भाड भयो भने त्यसलाई रोक्न प्रहरीलाई निर्देशन आएकोले प्रहरीले रोक्ने डिएसपी न्यौपानेको भनाई छ ।

होलीको धार्मिक मान्यता के छ त ?
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ । तराईमा भने भोली मङ्गलबार होली मनाइँदै छ ।