धरान : धरानमै सबै भन्दा कोरोना भाईरसको उच्च जोखिममा बिजयपुर रहेको भन्दै बिजयपुरबासी आफैले विजयपुरका ६ स्थानमा हात धुने ठाउँ राखेका छन् ।

आदर्श समाज विजयपुर धरान १४ र मण्डप तीनधारे टोल विकास संस्थाको सहकार्यमा आईतबार धरान १४ विजयपुरको डाँडागाउँ चौक, मण्डप चौक, तीनधारे पथ, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर र पिण्डेश्वर मन्दिरमा ३० लिटरको पानीको ड्रम सहित साबुन राखिएको छ ।

कोरोना सम्वन्धी जनचेतनामुलक कार्यक्रममा केन्द्रिय प्रविधि क्याम्पस हात्तीसार धरान १४ का माईक्रो बायोलोजी विभागका प्रमुख धिरेन लिम्वू र माईक्रो बायोलोजी अध्यनरत विद्यार्थी सहितको टोलीले विजयपुरबासीलाई कोरोना भाईरस के हो ? यसबाट कसरी जोगिने ? हेण्ड सेनीटाईजर कसरी आफैले तयार गर्ने ? भन्ने बारेमा सहजीकरण गरेका थिए ।

ADARSHA-SAMAJ

धरानको मुख्य धार्मिक पर्यटकीय स्थल विजयपुर भएकोले यहाँ देश विदेशबाट धेरै धार्मिक भक्तजनहरु आउने हुँदा विजयपुरको ६ ठाउँमा साबुन पानीले हात धुने स्थान तयार गरिएको आदर्श समाज विजयपुरका अध्यक्ष सागरमणी सुबेदीले बताए ।

बिजयपुरबासीले बढदो गर्मिसंगै देखा पर्ने डेंगुको बारेमा पनि केन्द्रिय प्रविधि क्याम्पसको माईक्रोवायोलोजी बिभागसंग सहकार्य गरेर अगाडी बढ्ने योजना रहेको मण्डप तीनधारे टोल विकास संस्थाका अध्यक्ष गोविन्द पोख्रेलले बताए ।

बिजयपुरबासीले बजारमा पाईन छाडिएको हेण्ड सेनिटाईजर पनि उत्पादन गर्ने र घर-घरमा वितरण गर्ने तयारी रहेको पनि अध्यक्ष पोखे्रेलले बताए ।