धरान : कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउनलाई धरानमा अझ कडा पारिने भएको छ ।

लकडाउन धरानमा अत्यन्तै धेरै उलंघन भईरहेको भन्दै धरान उपमहानगरपालिकाले धरान उपमहानगर क्षेत्रमा प्रहरी, नगर प्रहरीसंगै विभिन्न राजनितिक दलका ८० जना युवा स्यंम् सेवककोरुपमा परिचालन गर्ने भएको हो ।

नेकपाबाट २५ जना, नेपाली कांग्रेसबाट २५ जना, संघिय समाजबादीबाट १० जना, लिम्बूवानबाट ५ जना, खम्वुवानबाट ५ जना, राप्रपाबाट ५ जना, मंगोलबाट ५ जना गरी जम्मा ८० जनालाई विषेश ओरेन्टेसन पछि धरानका विभिन्न स्थानमा खटाईने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए ।

राजनितिक दलका ८० जना स्यंम् सेबक युवाहरुलाई आज सोमबार २०-२० जनाका दरले ११ बजे, १२ बजे, १ बजे र २ बजे धरान उपमहानगरपालिकामा ओरेन्टेसन दिईने छ । ओेरेन्टेसन पछि भोली मंगलबार देखि धरानका विभिन्न स्थानहरुमा उनीहरुलाई खटाईनेछ ।

यसैगरी धरान उपमहानगरपालिकामा आज सोमबार दिउसो २ : ३० बजे धरानका प्रदेश, तथा प्रतिनिधिसभाका सभासदहरुलाई धरानमा लकडाउनको अहिले सम्मको अवस्थाको बारेमा जानकारी पनि दिईने बताईएको छ ।