इटहरी : सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ । भिडियो मा खाद्यान्न सामाग्री लिएर हिँडेका दुई युवाले सशस्त्र प्रहरीले मरुन्जेल कुटेका छन् । खोलाको किनार जस्तो देखिने सो ठाउँ सुनसरी वा सप्तरीको कोसी बगर जस्तो देखिन्छ ।

कुनै बाटोमा भन्दा पनि खोला बगरको स्थानमा सशस्त्रका जवानले कुटेको देखिन्छ । उक्त भिडियोमा दुई व्यक्तिले चामलको दुई बोरा मोटरसाइकलमा ल्याइएको प्रस्ट देख्न सकिन्छ ।
बाइक देख्ने बित्तिकै सशस्त्र प्रहरीका जवानले एक व्यक्तिलाई लाठी भाँचिने गरी हान्छन् । लाठी भाचिएपछी अर्को लाठीले पुन दुवैलाई घुँडा टेकाएर पालैपालो पछाडि हान्छन् ।

भिडियो बिचमा तिन व्यक्ति, एक जना रातो कपडा र मुखमा मास्क लगाएका अर्का एक व्यक्ति सेतो टिसर्ट लगाएका र अर्का एक जना हरियो टिसर्ट लगाएका व्यक्ति भिडियो हेर्दै केही नबोली बस्छन् । प्रहरीका जवान लाठीले हान्दाहान्दै गलेर ती दुई व्यक्तिलाई हातले कान समातेर कुहिना र घुँडाले घस्रिन लगाउँछन् ।