धरान : धरान उपमहानगरपालिकाले फुड बैंक स्थापना गरेको छ ।

कोभिड १९ कोरोना भाइरसको कारणले नेपाल सरकारले लागु गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने, अति विपन्न नागरिकहरूको दैनिक खानपानको समस्या उत्पन्न भएकोले त्यस्ता नागरिकहरूलाई राहत सामाग्री वितरण गर्ने प्रायोजनका लागि फुड बैंक स्थापना गरिएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

धरान उपमहानगर भित्र विभिन्न वडाहरूमा दाताहरूले आफू खुसी राहत वितरण गर्न थाले पछि राहतमा लापरबाही भएको भन्दै धरान उपमहानगरले फुड बैंक स्थापना गरेको हो ।

आइतबार धरानबाट प्रकाशित हुने कोशीपत्र दैनिकले धरान उपमहानगरपालिकालाई यो सङ्कटमा नगर क्षेत्रभित्रका विपन्न नागरिक, मजदुर तथा असहायहरू धेरै पीडित भएको भन्दै उनीहरूको सहयोगका लागि उपमहानगरपालिकाले ‘नगर फुड बैक’ सञ्चालन गर्न सके राम्रो हुने सुझाव दिएको थियो ।

कोसी पत्र राष्ट्रिय दैनिकका निर्देशक योगेशबाबु काफ्लेले धरान उपमहानगरपालिकामा फुड बैंक स्थापन गर्दा सबैले समानुपातिक रूपमा खाद्यान्न पाउने, दाताहरूका लागि पारदर्शी पनि हुने भन्दै आइतबार निवेदन उपमहानगरपालिकामा दिएको बताए । सोही निवेदन अनुसार सोमबार धरान उपमहानगरपालिकाले फुड बैंक स्थापना गर्ने निर्णय गरेको हो ।