पथरी : विभिन्न सङ्घ संस्था तथा समूहले आफूखुसी राहत वितरण कार्य जोखिमपूर्ण भएको भन्दै पथरीशनिश्चरे नगरले एकद्धार प्रणालीबाट राहत वितरण गर्ने भएको छ ।

विभिन्न सङ्घ संस्था र सङ्गठनले राहत वितरण गर्दा कोरोना रोगको सङ्क्रमण हुने खतरा भएको भन्दै राहत व्यवस्थापन र वितरण गर्न कोरोना भाइरस जोखिम न्यूनीकरण तथा राहत व्यवस्थापन समिति समेत गठन गरेको छ । सोमवार नगरको बैठकले नगर प्रमुख दिलीप कुमार राईको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा नगर उपप्रमुख यमुना विष्ट बास्तोला, नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य, पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरी र नगरपालिका कर्मचारी लुकनाथ पोखरेल रहेका छन् ।

कोरोना भाइरसका कारण देश लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी गर्ने श्रमिकलाई खाद्यान्न लगायतको अभाव नहोस् भनेर एकद्धार प्रणालीवाट राहत वितरण गर्न लागिएको नगर प्रवक्ता याम प्रसाद गुरागाँईले जानकारी दिए । राहत वितरण गर्ने श्रमिक तथा अति गरिब परिवारको लागत २ दिन भित्र सङ्कलन गर्ने र उनीहरूलाई वडाको समन्वयमा राहत वितरण गरिने भएको हो ।

वडा-वडामा राहत वितरण गर्न वडा अध्यक्षको संयोजनमा समिति समेत गठन गरिने भएको छ । यसै बिच नगरपालिकाले प्रत्येक वडामा कोरोना सङ्क्रमणबाट बच्ने औषधि छर्किएर निर्मलीकरण (डिसइन्फेक्टेड) गराउने समेत निर्णय गरेको छ । नगरभित्र चैत १ गतेयता विदेशबाट घर फर्किएका नागरिकको विवरण सङ्कलन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यसैबिच, समन्वय समितिका सदस्य दीपक बस्नेतले राहत कोषका लागि व्यक्तिगत रूपमा १ लाख १ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।