धरान : लकडाउनको मौका छोपी खाद्यान्नमा पनि मूल्य वृद्धि हुने भन्दै आम सर्वसाधारण उपभोक्तामा चिन्ता थपिन थालेको छ ।

लकडाउनको केही दिनमा तरकारीजन्य बस्तुमा कालोबजारी भएको भन्दै जनगुनासो बढेपछि तरकारीमा कालोबजारी नहोस् भनेर धरानका जनप्रतिनिधि आफैले वडा वडामा पुगेर अहिले तरकारी बिक्री वितरणको व्यवस्था गरेका छन् ।

आइतबार धरान उपमहानगरपालिकामा बसेको  बैठकले तरकारी बिक्री वितरण उपसमितिको गठन गरी तरकारी आपूर्तिमा केही सहज बनाएको हो । तरकारीजन्य बस्तुमा सहजता आए पनि अव खाद्यान्नमा समस्या आउन सक्ने धरान १४ निवासी प्रेम पराजुली बताउँछन् ।

उनका अनुसार तरकारीजन्य वस्तुमा सहजता आएसँगै अव खाद्य सामाग्री, चामल, दाल, चिनी, नुन र तेल लगायतका सामाग्रीको मूल्य आकासिन सक्छ । त्यस कारण स्थानीय सरकार, प्रदेश सरकार लगायत यसमा समयमै ध्यान पुर्‍याउन जरुरी रहेको सर्वसाधारणको भनाई छ । तरकारीजन्य वस्तु जस्तै सर्वसाधारणलाई लकडाउनको बेलामा खाद्यान्न सहज बनाउनका लागि खाद्य संस्थान, साल्ट ट्रेडिङ र आपूर्ति मन्त्रालयहरूले सहजरुपमा तरकारीजन्य बस्तु जस्तै उपलब्ध गराउनुपर्ने पराजुलीको भनाई छ ।

बिहान बेलुका ज्यालादारी काम गरेर छाक टार्ने समुदायलाई विशेष प्राथमिकतामा राखी खाद्यान्नमा सहजता ल्याउन स्थानीय सरकाको ध्यान जान जरुरी रहेको छ ।

धरान उपमहानगरपालिकामा खाद्यान्नमा पनि सहजताका लागि धरान उपमहानगरपालिकाले निर्णय गरेर सबै वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरी सहज बनाउने तयारी भइरहेको पनि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् । तर यता सर्वसाधारण भने खाद्यान्नमा कालोबजारी हुन सक्ने भन्दै त्रसित भएका छन् ।