इटहरी । कोरोना भाइरस सम्बन्धी गलत समाचार प्रकाशन गरेका १७ ओटा अनलाइनहरूलाई प्रेस काउन्सिलले 'ब्लक' अर्थात् खारेजी गर्ने भएको छ ।

नेपाल प्रेस काउन्सिलले चैत १० गते देखि १६ गते सम्म कोभिड -१९ बारे अफवाह फैलाउने १७ अनलाइनहरूलाई नेपाल भित्र नचल्ने गरी ब्लक गर्ने भएको हो । सञ्चार माध्यमहरूको अनुगमन गर्ने निकाय प्रेस काउन्सिलले पत्रकारिताको व्यावसायिक धर्म विपरीत झुटो समाचार प्रकाशन गरेर नागरिकमाथि भ्रम सिर्जना गरेको भन्दै ३६ वटा अनलाइनसँग स्पष्टीकरणसमेत सोधेको छ।

प्रेस काउन्सिलले पहिलो चरणमा दर्ता भएका अनलाइन सञ्चार माध्यमहरूलाई स्पष्टीकरण मात्रै सोधेको छ । सम्बन्धित निकायमा दर्ताबिना नै सञ्चालन गरेर जथाभाबी भ्रम फैलाउने समाचार प्रकाशन गर्ने १७ अनलाइन सञ्चार माध्यमहरूलाई भने ब्लक नै हानिएको काउन्सिलले जनाएको छ ।

दर्ता समेत नगरेका खारेजीमा परेका अनलाइनले अतिरञ्जित हेडलाइन राखेका थिए । खारेज भएका केही अनलाइनहरूले ‘खुसीको खबर सक्दो सेयर गर्नुस्, एक नेपालीले कोरोना भाइरसको औषधि पत्ता लगाएको दाबी’ देखि ‘न्युज २४ का दुई जना पत्रकारलाई कोरोना भाइरसको सङ्क्रमणको पुष्टि ’ भन्ने लगायतका समाचार लेखेका थिए ।

Block-list

पटक पटक स्पष्टीकरण सोध्दा पनि पुष्टि नै नभएका र समाजलाई आतङ्कित र उत्तेजित बनाउने गरी समाचार प्रकाशन गरिरहेपछि त्यस्ता अनलाइनहरूलाई नेपालमा खुल्न नसक्ने गरी बन्द गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

काउन्सिलले विज्ञप्तिमा भनेको छ 'जटिल परिस्थितिमा पत्रकार र सञ्चार माध्यमहरूले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि काउन्सिलले यस्तै भूमिकाको अपेक्षा गरेको छ' ।


तर पनि पत्रकार आचारसंहिता विपरीत कथा बुनेर, अनुमानका भरमा, पुष्टि नै नभएका र समाजलाई आतङ्कित र उत्तेजित बनाउने खालका समाचार सन्देश प्रवाह गर्ने अनलाइन सञ्चार माध्यमहरूलाई कारबाहीको दायरामा ल्याइएको काउन्सिलले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।