पथरी : पथरीशनिश्चरे नगरपालिकाले नगरबाट राहत वितरण सुरु गरेको छ । लकडाउनका कारण बढी समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने परिवारकालागी नगरपालिकाले स्वास्थ्य सतर्कताका साथ दुरी कायम गरेर खाद्यान्न राहत वितरण सुरु गरेको हो ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत सहित सङ्घ संस्था र राजनीतिक दलका प्रतिनिधि सम्मिलित ‘कोरोना भाइरस जोखिम न्यूनीकरण नगर स्तरीय समन्वय समिति’ र राहत व्यवस्थापन तथा वितरण समिति र वडा स्तरीय समिति मार्फत राहत वितरण थालिएको हो । आइतबार वडा नम्बर ८ मा २ सय २२ र ९ मा १ सय ८६ घर परिवारलाई राहत वितरण गरिएको छ ।

२ जनासम्मको परिवारलाई प्रति परिवार १२ केजी चामल, २ भन्दा माथिको सदस्य रहेका परिवारलाई २५ केजी चामल तथा सवैकालागि प्रति परिवार २ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल र २ वटा साबुन राहतका रूपमा वितरण भएको छ ।
नगरको राहत कोष तथा ‘कोरोना भाइरस जोखिम न्यूनीकरण राहत कोष समन्वय समिति’ को खातामा जम्मा भएको नगद र वडा वडामा जम्मा भएको खाद्यान्न सहितको राहतलाई वडा वडाका उपयुक्त स्थानहरूबाट वितरण गर्न थालिएको छ । राहत कोषको बैङ्क खातामा २ लाख ३५ हजार रुपैयाँ जम्मा भएको छ ।