धरान : धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा खाद्यान्न सकिएको छ ।

त्यसैले दोश्रो चरणको राहत वितरण आजदेखि गर्ने भनिएकोमा  अहिले सम्म १ नम्वर वडाको १ सय २० परिवारका लागि मात्रै राहत पठाईएको धरान उपमहानगरपालिकाका सुचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिएका छन् ।
धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा मौज्दात खाद्यान्न सकिएकोले दोश्रो चरणको खाद्यन्न संकलनको क्रम जारी रहेको छ ।

फुड बैंकमा अझै २२ हजार किलो चामल चाहिनेमा आज १५ हजार किलो चामल आउदै गरेको बताईएको छ । बाँकी अपुग चामल पनि पुर्याउने तयारी भईरहेको छ । यसैगरी १ सय १६ बोरा नुन, ५५ सय लिटर खाने तेल संकलन भईरहेको बताईएको छ । ४० कार्टुन साबुन चाहिनेमा ३५ कार्टुन साबुन मौज्दात रहेको र बाँकी ५ कार्टुन साबुन अपुग भएको सुचना अधिकृत खतिवडाले बताए ।

धरानमा सबै वडाबाट लगत संकलन भएर आएका अति विपन्न परिवारको संख्या ५५ सय परिवार रहेको छ । अव दोश्रो चरणमा आज विहान १ नम्वर वडाका लागि राहत पठाइएको छ भने अझै २ हजार ३ सय ८० परिवारलाई राहत वितरण गर्न बाँकी रहेको छ ।

फुड बैंकमा खाद्यन्न संकलन तथा जम्मा भईरहेकोले अव ३, ७, १०, १२, १४ र १८ नम्वरमा अर्काे चरणमा राहत वितरण गरिने धरान उपमहानगरपालिकाले जनाएको छ । बाँकी रहेका ६ वटा वडामा पनि आज दिनभरीमा राहत संकलन गरी वितरण गरीसक्ने योजना रहेको सुचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

अति विपन्न परिवारलाई वितरण गरिने राहतमा प्रतिपरिवार १० किलो चामल, १ लिटर खाने तेल, १ किलो दाल, १ किलो नुन, ४ किलो आलु र सावुन वितरण गरिने धरान उपमहानगरपालिकाका सुचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा अहिले सम्म ३६ हजार ८ सय १५ किलो चामल वितरण गरिसकिएको छ ।