इटहरी : कोरोना भाइरसका कारण सरकारले घोसणा गरेको लकडाउनले उत्पन्न भएको परिस्थितिमा राहत वितरण गर्ने भन्दै धरान उपमहानगरपालिकाले बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान संग चन्दा मागेको छ ।

सरकारले लकडाउनको घोषणा गरेसंगै राहतको कार्यक्रम ल्याउनुपर्ने भएकोले आर्थिक सहयोग गर्ने उपमहानगरले आग्रह गरेको हो ।

प्रतिष्ठानका पदाधिकारीको १५ दिनको र कर्मचारीको १० दिनको तलब सहयोग गर्न उपमहानगरले पत्र काटेको छ ।

मेयर तिलक राइले हस्ताक्षर गरेको पत्रमा दैनिक ज्याला मजदुरी गरिखानेको लागि राहत दिनुपर्ने भएकोले आर्थिक सहयोग गर्ने भनिएको छ ।

सोही पत्रमा उपमहानगरपालिकाका कर्मचारीको १५ दिनको तलब दिने निर्णय गरेको र प्रतिष्ठानले पनि दिनुपर्ने उल्लेख गरिएको छ ।

उता प्रतिष्ठानका कार्यबाहक उपकुलपति गुरु खनालले भने आह्वान गरेर कसैलाई चन्दा दिनुपर्छ भन्न नसकिने बताए । कर्मचारी वा पदाधिकारीले व्याक्तिगत रूपमा दिन सक्ने तर प्रतिष्ठानले नमाग्ने उनको भनाइ छ ।

letter-bp-next