विराटनगर : प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा अहिले सम्म कूल ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ रुपैयाँ जम्मा भएको छ ।

कोषमा आज सोमबार थप ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो । कोषमा आइतबारसम्म ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो ।

राष्ट्रिय वाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पे बाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । कोषमा बैङ्क, सङ्घसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको बताइएको छ ।

प्रदेश १ मा कोरोना आशङ्का गरिएका ६९ को रिपोर्ट नेगेटिभ

प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् ।

सोमबार सम्ममा डिस्चार्ज हुने मध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरूमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । सरकारले प्रदेश १ मा ४ सय ३८ आईसोलेसन बेड तयार गरेको छ । यसै गरी ४ हजार ३७ वटा क्वारेन्टाइन बेड तयार गरेको छ । यसै गरी सङ्क्रमित उपचार गर्न ४४ आइसियु बेड तयारी अवस्थामा छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार प्रदेश १ मा अहिलेसम्म कसैलाई पनि आइसियुमा राखेर उपचार गर्नु परेको छैन ।

सूचना डेस्कले दिएको जानकारी अनुसार सोमबारसम्म क्वारेन्टाइनमा ४४ महिला र ५ सय ६६ पुरुषसहित जम्मा ६ सय १० जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ५ सय ३८ महिला र दुई हजार ३ सय ९ पुरुष गरी जम्मा २ हजार ८ सय ४७ जना रहेका छन् ।

प्रदेश १ मा हालसम्म ८५ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षण गरिएको छ । तीमध्ये ६९ जनालाई कोरोना नभएको पुष्टि भएको छ । बाँकीको रिपोर्ट आउन बाँकी रहेको छ । स्वाब परीक्षण गरिएकामा १८ महिला र ५१ पुरुषको रिपोर्ट आएको हो । परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमुना धरान पठाइएको छ । प्रदेश १ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना सङ्क्रमणको परीक्षण भइरहेको छ ।