धरान : धरानमा सुख्खायाम संगै देखा परेको खानेपानी समस्यालाई सहज बनाउनका लागि धरान उपमहानगरपालिकाले पानी नपुगेका स्थानमा ट्यांकरबाटै खानेपानी वितरण गर्ने तयारी गरिरहेको छ ।

धरान उपमहानगरपालिकाको वडानं. १५, ८, १०, ११, १६ र १४ मा खानेपानी समस्या देखिएकोले खानेपानीमा सहजता कायम गर्न ट्यांकरबाटै भए पनि पानी वितरण गर्ने तयारी गरेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् । खानेपानी संस्थानमा ट्यांकर प्रयाप्त नभएकोले भाडामा लिएरै भए पनि खानेपानी नगरबासीलाई खुवाउने मेयर राईले बताए । लकडाउनको बेलामा उत्पन्न भएको असहज परिस्थीतिलाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको मेयर राईको भनाई छ ।

हरेक वर्ष हिउँदको सुख्खा याममा धरानमा खानेपानीको ठुलो समस्या हुने भएकोले आईयुडिपिले धरान नजिकैको चारकोशे जंगलबाट जमिन मुनिको खानेपानी धरानमा ल्याउने योजना करिव करिव सम्पन्न भईसकेको छ । केही बाँकी कामले गर्दा धरान उपमहानगरपालिकाको खानेपानी बोर्डमा हस्तान्तरण हुने भनिए पनि लकडाउनले फेरी रोकिएको धरान खानेपानी ब्यावस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोख्रेलले बताए ।

उनका अनुसार जंगलमा जमिनमुनिबाट प्रतिसेकेण्ड ८० लिटरको हाराहारीमा पानी उत्पादन भईरहेको छ । उत्पादन भएको पानी मध्ये पिण्डेश्वरको टंकीमा ५० लिटर प्रतिसेकेण्डमा पानी खसाईएको छ । यसैगरी नेपाल खानेपानी संस्थानको जंगलमा रहेको रिर्जभ टंकीमा १२ लिटर प्रतिसेकेण्ड र धरान १३ भगवती मार्गको खानेपानी संस्थानको टंकीमा १८ लिटर प्रतिसेकेण्डका दरले पानी खसाईएको छ । यति गर्दा पनि धरानमा खानेपानी समस्या देखिएकोले मेयर तिलक राईको संयोजनमा ट्यांकरबाट पानी अभाव क्षेत्रमा खानेपानी वितरण गर्न तयारी थालिएको धरान खानेपानी ब्यावस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोख्रेलले बताए ।

नेपाल खानेपानी संस्थानको जंगलबाट ल्याईएको मुख्य पाईपलाईन केही दिन अघि लिकेज भएकाले पनि धरानमा खानेपानी समस्या देखिएको बताईएको छ । चारकोशे जंगलको ४ नम्वर वेलमा पानी लिकेज भएकोमा मर्मत सकिएकोले केही दिनमै धरानको खानेपानीमा सहजता थोरै भए पनि आउने बताईएको छ ।