धरान : आन्तरिक मामिला एवम् कानुन मन्त्री हिम्मत कार्कीले कोरोना सङ्क्रमणको त्रासले बन्द रहेका शैक्षिक संस्था खुलाउन हतार गर्न नहुने बताएका छन् ।

शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिसँगको भर्जुुअल संवादलाई सम्बोधन गर्दै प्रदेश एक सरकारका प्रवक्ता समेत रहेका कार्कीले बढी भिडभाड हुने क्षेत्र कोभिड-१९ को उच्च जोखिममा रहेको भन्दै सचेत रहन आग्रह गरे ।  लकडाउनका बेला विद्यार्थीको पढाइ छुट्यो भनेर चिन्ता गर्ने भन्दा पनि कसरी सुरक्षित बस्ने भन्ने कुरा प्राथमिकतामा राख्नु पर्ने बताए । ‘विद्यार्थीहरूलाई त्रास र भयमुक्त भएर मात्र विद्यालय पठाउने हो ।’ उनले भने ‘ठुलो भिडमा सङ्क्रमणका उच्च जोखिम हुन्छ, यस्ता जोखिमको बेला घरमै बसेको राम्रो ।’

उनले धेरै शैक्षिक संस्थाले इन्टरनेट शिक्षाको सुरुवात गरेको थाहा पाएको भन्दै कमजोर नेट भएको नेपालजस्तो मुलुकमा त्यो कति प्रभावकारी होला भन्दै प्रश्न गरे । उनले विद्यालयको औपचारिक शिक्षा मात्र छुटेको बताउँदै घर भित्र अभिभावकसँग रहेका र सिक्ने थुप्रै शिक्षा बाँकी रहेको भन्दै विद्यालय शिक्षा मात्र सर्वज्ञ हो भनेर सोच्न नहुने धारणा राखे ।

दसैँ तिहार पछि सेसन सुरु गर्दा पनि केही नबित्ने भन्दै भूकम्पका कारण झन्डै तीन महिना  शैक्षिक सत्रमा प्रभाव पारेको स्मरण गराए । उनले सरकारले कुनै पनि हालतमा निजी विद्यालयलाई राष्ट्रियकरण नगर्ने जानकारी दिए । सरकारी र निजी विद्यालयको पढाइको गुणस्तरमा प्रतिस्पर्धा गराइ शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने सरकारको लक्ष्य रहेको भन्दै अर्वौँ लगानी गरेका विद्यालय सञ्चालकलाई आतङ्कित पार्ने काम कहिँकतैबाट हुन नहुनेमा आफुु प्रस्ट रहेको जिकिर गरे ।

सो भर्चुुअल संवादमा सहभागी प्राध्यापक राजेन्द्र शर्माले विद्यालय पढाइ छुटे पनि इतिहास, संस्कृति जस्ता विषयमा अभिभावकले ज्ञान दिन सक्नुपर्ने राय राखेका छन् । त्यस्तै शर्माले रैथाने सीप र खेती किसानीका व्यवहारिक सीप दिने उचित मौका रहेको भन्दै यो समयलाई यथोचित उपयोग गर्न सुुझाए ।  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्रोफेसर डा. निधेस सापकोटाले डिजिटल शिक्षाले विद्यार्थीलाई फाइदा भन्दा बढी नोक्सान पुर्‍याउने बताए । उनले विश्व स्वास्थ्य सङ्गठनले समेत डिजिटल डिभाइसले वाल मस्तिष्कमा हानी गर्ने भन्दै यसको लत विकास हुनेतर्फ सचेत हुनुपर्ने धारणा राखे ।

बैठकमा निजी क्षेत्रका विद्यालय सञ्चालक, शिक्षक लगाएको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन गर्ने सुरेन्द्र घिमिरेले लकडाउनको बेला भत्किएका शिक्षा प्रणाली सुधार गर्न के गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा सरोकारवालासँग डिजिटल संवादको थालनी गरिएको जानकारी दिए ।