धरान : धरान नगर अस्पताल धरान उपमहानगरपालिकाको स्वामित्वमा बनाउने कि वीपी प्रतिष्ठानको स्वामित्वमा बनाउने ? भन्ने कुराको टुंगो नलागेपछि धरानका राजनीतिक दलहरूले असोज मसान्त भित्र नगर अस्पताल बन्न नसक्ने भएकोले अर्को व्यवस्था नभए सम्म वीपीलाई नै स्वास्थ्य विमाको प्रथम सेवा केन्द्र कायम गर्न माग गरेका छन् ।
नगर प्रमुख हर्क साम्पाङले नगर अस्पतालको बारेमा छलफल गर्न आज बुधवार धरानका राजनैतिक दलहरू र वीपी प्रतिष्ठान समेतलाई बोलाएका थिए । छलफलमा नगर अस्पताल निर्माणको स्वामित्वको बारेमा सहमति नभएपछि दलहरूले अर्को व्यवस्था नभए सम्म बिपीलाई नै स्वास्थ्य विमाको प्रथम सेवा केन्द्र कायम गर्न माग गरेका हुन् ।
वीपीको प्रस्ताव अस्वीकार
छलफलमा सहभागी वीपीका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले वीपी प्रतिष्ठानले स्थानीय सरकार उपमहानगरपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा नगर अस्पताल बनाएर सञ्चालन समेत गर्ने भनी राखेको प्रस्ताव नगर प्रमुख हर्क साम्पाङले अस्वीकार गरे ।
साम्पाङले भने ‘विपीको स्वामित्वमा नगर अस्पताल बन्नेमा मेरो सहमत छैन ।’ स्थानीय सरकार धरान उपमहानगरपालिका भएकाले आफैले नेतृत्व लिने नगरप्रमुख हर्क साम्पाङले बताए । नगर अस्पताल बनाउन नगर प्रमुख भएको हैसियतले पहल समितिको संयोजक भएर नेतृत्व गर्ने बताए ।
नगर अस्पताल बनाउन बजेट विनियोजन समेत भएको बताउँदै उनले वीपीले जग्गा फिर्ता दिनु पर्ने बताए । भौतिक संरचना बनेपछि वीपीले अस्पताल सञ्चालन गर्न आवश्यक प्राविधिक सहयोगको गर्नुपर्ने उनको भनाई थियो ।
साम्पाङले भने ‘बनाउनु पर्छ भन्नेमा लाग्नुपर्छ, जग्गा फिर्ता नआए पनि नगर अस्पताल बनाउनु पर्दछ ।’
भौतिक संरचना बनाएर मात्र अस्पताल हुँदैन, डाक्टर सहित दक्ष जनशक्तिको लागि विपीको टेक्निकल सपोर्ट नभई अस्पताल बन्दैन भन्ने उनको भनाई थियो ।
साम्पाङले भने ‘नगर अस्पताल बनाउन आज देखि सुरु भयो भन्दा हुन्छ, पहल समिति बनाऊ अनि सिरियस लागौँ, पहल समितिको संयोजक नगरप्रमुख हुन्छ अरू कति सदस्य र कत्रो बनाउने तपाईँहरूको जिम्मा भयो ।’
उपप्रमुख बेघाले नगर प्रमुख विपीको सिनेट सदस्य भएकाले जग्गा प्राप्तिका लागी सिनेट बैठकमा कुरा उठाउन आग्रह गरे । उनले भने ‘जनताले दुःख पाउनु भएन, विपीले सकारात्मक ढङ्गले सोचिदिनु पर्यो ।’
उनले असोज मसान्त भित्र प्रथम बिन्दु कायम नभइन्जेल विपीसँग नगरप्रमुखले समन्वय गरेर अगाडी बढ्नुपर्ने धारण राखे ।
वीपी प्रतिष्ठानको प्रस्ताव
प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले भने ‘वीपी पनि धरान उपमहानगरपालिकाकै सम्पत्ति भएकोले प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गामा अस्पताल सञ्चालन गर्न विपीले स्वामित्व लिन्छ तर एक्लै गर्न सक्दैन ।’
उनले नगर अस्पताल बनाउन सघिय, प्रदेश र स्थानीय सरकारको सहकार्य गर्न तिने तहको सरकारबाट एक एक जना प्रतिनिधि राखेर काम नगर अस्पतालको कार्य गरिनु पर्ने प्रस्ताव गरे । उनले भने ‘त्यसमा नामकरण नगरकै हुन्छ यसमा कुनै शङ्का नगरौँ ।’
यसो गरेमा फास्टट्रयाकबाट काम हुने र हुनुपर्ने उनले बताए । नगर अस्पताल बनाउने कार्यको नेतृत्व सबैको साझेदारीमा वीपीले गर्ने उनको प्रस्ताव थियो ।
पहिलो बिन्दु बनाउन र जग्गा प्राप्ति समिति बनाऔँ
छलफलमा राजनैतिक दलहरूले नीतिगत, प्रक्रिया मिलाएर स्थानीय तह अन्तर्गत रहन जग्गा नगर अस्पतालको नाममा ल्याउनु पर्ने प्रस्ताव राखे । दलहरूले ३ बुद्धे धारणा प्रस्तुत गर्दै ती बुँदाहरूमा गहन छलफल गरेर अगाडी बढ्न सुझाव राखेको थियो ।
दलहरूले विपी प्रतिष्ठान र उपमहानगरपालिकाको दृष्टिकोण र धारणलाई संयोजन गर्दै बिपिलाई पहिलो बिन्दु बनाउन सरकार लाई आव्हान गर्न र जग्गा प्राप्तिका लागि दल र उपमहानगरपालिकाको संयुक्त पहल समिति गठन गर्न माग गरेका छन् । तत्काल नगर भित्रका स्वास्थ्य केन्द्रलाई आधारभूत स्वास्थ्य केन्द्र बनाउन भएपनी पहल गर्न दलहरूको आग्रह छ ।
दलहरूले असोज मसान्तसम्ममा नगर अस्पताल बन्न नसक्ने भएकोले अर्को व्यवस्था नभइन्जेल बिपी अस्पताल नै प्रथम सेवा केन्द्र हुनुपर्ने माग समेत गरेका छन् । उनीहरूले बिपी अस्पताल धरानकै भएकोले बिपी अस्पतालको कुनै भवनमा नगर अस्पतालको सेवा सुरु गर्न माग गरेका हुन ।
दलहरूको भनाई छ ‘नत्र प्रथम बिन्दुको सेवा पुन बन्द भए आन्दोलन भइहाल्ने भएकोले समयमै समाधानमा लाग्न जरुरी छ ।’
छलफलमा धरानका ९ राजनैतिक दलहरू नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेल,नेकपा माओवादी उद्धव लिम्बु,जसपा अध्यक्ष ताजुव लिम्बु,एमाले नगर उपाध्यक्ष पारस काङमाङ, जसपा नेपाल अध्यक्ष नरेन्द्र पारघरी, रास्वपा, नेकपा एस अध्यक्ष रेवती रमण राई उपस्थित थिए ।