धरान : धरानमा पछिल्लो समय खुकुरी आतङ्क मच्चाउने ७ जना पक्राउ परेका छन् । 

गएको असार ३० गते धरान-१६ को जोर सखुवा स्थित लिगामेन्ट स्कुल अगाडी धरान-१७ का टिकाराम राई, धरान-१५ का प्रदीप लिम्बु र धरान-१६ का टिका गुरुङलाई खुकुरी प्रहार गरी फरार भएका ७ जनालाई इलाका प्रहरी कार्यालय धरानले साउन ४ गते धनकुटाको सागुरीगढी गाउँपालिका-५ सिंकुलामा लुकीछिपी बसेको अवस्थामा ५ जना र २ जनालाई धरान-२० बाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । 

पक्राउ परेका ७ जनालाई आज धरान प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा धरान-१६ गणतन्त्र चौक बस्ने २४ वर्षीय टाउके भन्ने सुरज राई, सोही स्थानका पप्पु भन्ने २३ वर्षीय योगेस तामाङ, धरान-११ मङ्गलवारे बस्ने २३ वर्षीय विदुर राई, धरान-१६ गणतन्त्र चौक बस्ने २१ वर्षीय कान्छा भनिने निश्चल राई, २२ वर्षीय रोजन लिम्बु, धरान-२० बाट धरान-११ को २७ वर्षीय नकुल राई र धरान-१६ सुम्निमा चौक बस्ने वर्ष २३ को खरायो भन्ने दिवस राई रहेका छन् । 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउकुमार लिम्बुको कमान्डमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका ५ जना १० दिन र १ जनालाई ३ दिन र अर्को १ जनालाई ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट खुकुरी पनि बरामद भएको छ ।