धरान: सरकारले गौरवको आयोजनाकोरुपमा अघि बढाएको कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना विवादबारे सोमबार धरानमा राजनीतिक दलसहित सर्वपक्षीय छलफल भएको छ ।

हाइटेन्सनले आफुहरुलाई असर गर्ने भन्दै वडा २० का जनताले कार्तिक अन्तिमदेखि टावर निर्माणको काम अघि बढाउन दिएका छैनन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको छलफलमा आयोजनाबारे पीडित एवं प्रभावित धरानको वडा नं २० विष्णुपादुकाबासी, त्यहाँका पर्यटनकर्मी, जनप्रतिनिधिसहित आयोजना भएको छलफलमा प्रोजक्ट(आयोजना)का अधिकारीहरु पनि सहभागी थिए । छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधि, स्थानीयबासीहरुले आयोजनाले वातावरणीय प्रभाव मुल्यांकन, सर्वे डिजाइनलगायत कार्य गर्दा प्रत्यक्ष सरोकारवाला एवं प्रभावित स्थानीयबासीसँग पर्याप्त छलफल नगरेको भन्दै चर्को आलोचना गरेका थिए । उनीहरुले स्थानीय जनतालाई असर पर्न नदिने गरी सम्भव भएसम्म आयोजनाको एलाइमेन्ट सारेर काम अघि बढाउन सुझाव दिए ।

स्थानीयबासी जगत राईले हाइटेन्सन के हो भन्ने आफुहरुले नबुझेको र त्यसबारे विगतमा पर्याप्त छलफल नभएको भन्दै गुनासो पोखे । आफुहरुले आयोजनालाई अवरोध नगरेको नभै आफुहरु मर्कामा परेको कारण आवाज उठाएको बताए । ‘कताबाट लैजान हामी बच्छौ, त्यो ठाउँ देखाइदिन्छौ । त्यताबाट हाइटेन्सन लगियोस् । प्रोजेक्ट सफल बनाउन हामी पनि सहयोग गछौ,’उनले भने ।

चिण्डे डाँडाबाट व्यावसायिक प्याराग्लाइडिङ अनुमति लिएको बुढासुब्बा प्याराग्लाइडिङ प्रालिका सचिव राम राईले आफुहरुलाई सरकारले नै एयर स्पेश स्वीकृति दिएको तर अहिले त्यसलाई पनि असर पर्ने गरी हाइटेन्सन निर्माण भइरहेको बताए । यसबिषयमा आफुहरुसँग आयोजनाले छलफलै नगरेको तर थाह पाएदेखि नै आफुहरुले कुरा उठाए पनि सुनुवाई नभएको उनले बताए । वडा नं १५ का अध्यक्ष नरेश इवारमले पनि आफ्नो वडाबाट प्राधिकरणको हाइटेन्सनबाट जनता असाध्यै पीडित भएको उदाहरण दिदै यो आयोजनाले पनि जनतालाई असर नपुग्ने गरी रुट परिवर्तन गरेर जान सुझाव दिए । वडा २० का अध्यक्ष मणिराम राईले पनि आयोजनाको बिषयमा गहनरुपमा छलफल हुन नसकेको बताए । 

कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले जनभावना बुझेर काम गर्न आयोजनालाई आग्रह गरिन् । आफुले पनि जनताको पीर मर्का बुझेर नै एलाइमेन्ट परिवर्तनको लागि मन्त्रालयसम्म पुगेको खुलाउदै जनता, धरानको पर्यटन र विकासलाई क्षति कम होस्भनेर लागिपरेको बताइन् । आयोजनाको धरान साइट इञ्चार्ज मुकुन्द पराजुलीले भने सबै प्रक्रिया पुार गरेर नै काम अघि बढाएको बताउदै अब माथिल्लो तहबाट मात्र यो समस्या समाधान हुने बताए ।

कुन नेताले के भने ?

IMG_8242 copy

पुर्वएमाले नगर अध्यक्ष नारायण सुवेदीले सर्वे गर्दा कसरी भएको भनेर स्थानीयबासी, सरोकारवाला जनता कसैलाई थाह नभएको बताए । जनतासँग प्रत्यक्ष छलफल नभएको, हाइटेन्सनको असर के हुन्छ भने नबुझाएको भन्दै उनले आयोजनाले शुरुवातमै त्रुटी गरेको बताए । विष्णुपादुका पर्यटनको हब बनाउन खोजिरहेको भन्दै उनले टोड्केको भ्यु टावर र प्रस्तावित एयरपोर्टलाई पनि असर पुग्ने बताए । उनले पनि क्षति न्युन हुने गरी ठाउँ सारेर आयोजना अघि बढाउनुपर्ने बताए ।

पुर्वमाओवादी केन्द्रका नेता चोत्लुङले पनि धरानको सर्दु जलाधार क्षेत्र, पर्यटन, जनतालाई असर पर्ने भएकोले विकल्प खोजिनुपर्ने बताए । यही अवस्थामा रहेमा आयोजना झन ढिलाई हुने भएकोले विकल्प खोजेर काम अघि बढाउदा छिटो काम हुने उनको भनाई थियो । नेपाली कांग्रेसका सभापति तिलक राईले स्थानीयबासी र उपमहानगरले विकल्प प्रस्ताव गरिएको ठाउँमा पनि पर्ने असरबारे ध्यान दिनुपर्ने बताए । अफ्ठेरो पर्दा मात्र सबै दललाई बोलाएर छलफल गर्ने तर समाधान नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए ।

यस्तै, संघीय समाजवादी फोरमका नेता ताजुव लिम्बूले पनि वातावरणीय प्रभाव मुल्यांकन गर्दा आयोजनाले जनतालाई पार्ने असरबारे शुरुमै ध्यान नपुगेको भन्दै आलोचना गरे । ‘प्रभाव मुल्यांकन गरिदा यस्तो बिषयमा ध्यान किन पुगेन ? अहिले जस्तो त्यतिबेला खै छलफल भएको ? जनताबाट अनुमोदन गरेर प्रतिवेदन माथि जानुपर्ने होइन ?’उनले भने । जनताको समस्या समाधान गरेर आयोजना अघि बढाउनुपर्ने उनले बताए । संघीय लिम्बूवान मञ्चका सञ्जुहांग साँवाले जनताको भावना बुझेर मात्र काम अघि बढाउन आग्रह गरे ।