लिम्बु र याक्थुङ पर्यायवाची शब्दहरू हुन । प्रयोगको आधारमा लिम्बु समाजमा याक्थुङ भन्ने प्रचलन छ भने बाहिरीयसंग पहिचान दिने सम्बन्धमा लिम्बु भन्ने प्रचलन छ ।
यसैले, १९ औ शताब्दीको मध्यसम्मका सरकारी आधिकारिक कागजातहरूमा जाति तथा वंशलाई जनाउन राय शब्द प्रचलनमा रहेको पाइन्छ भने त्यस यता सरकारी कागजातहरूमा लिम्बु शब्द प्रचलनमा रहेको पाइन्छ ।
उदाहरणकोरुपमा लिम्बु र कान्तिपुर बिच भएको वि.सं. १८३१ सन्धि (लालमोहर) र त्यसपछि विभिन्न व्यक्तिहरूलाई जारी गरिएका अन्य लालमोहरहरूमा राय शब्द नै प्रयोग भएको पाइन्छ । जातिलाई जनाउन याक्थुङ शब्द आजसम्म सरकारी कागजातहरूमा लेखिने चलन पाईएको छैन ।
यसो भन्नुको अर्थ याक्थुङ लेख्नै सकिन्न भन्ने होइन । याक्थुङ लेख्दा अलि मौलिकता जस्तो पनि भान हुन सक्छ । यसो त लिम्बु पनि मौलिक शब्द नै हो । यो शब्द पृथ्वीनारायण शाहले आफ्नो खल्तीबाट झिकेर थबक्क सन्धि पत्रमा राखेका होइनन् ।
त्यो पहिलेदेखि प्रचलनमा थियो र सन्धिले त्यसलाई मान्यता (Recognition) मात्र दिएको हो । त्यो पनि पृथ्वीनारायण शाहका प्रतिनिधीहरुसंग सन्धिका लागी छलफल गर्ने राय टाइटलधारी व्यक्तिहरूले उठाएको हुनाले त्यो सन्धिमा परेको हो ।
जहासम्म याक्थुङ र लिम्बु शब्द प्रयोग तथा प्रचलनको ऐतिहासिकता छ त्यसबारे कसैले पनि तत्काल यही हो भनेर ठोकेर र प्रमाणिक हिसाबले भन्न सक्ने स्थिति छैन ।
यी शब्दहरू प्रयोग र प्रचलन नयाँ हुन भन्नेमा चाही हिचकिचाउनु पर्ने स्थिति छैन । मुन्धुमको प्राचीनतासँग जोडिएको र मुन्धुममा निरन्तर प्रयोग भई आएको मानव समूहलाई जनाउने शब्द चाही सावायेत्हाङसा सहित सिन्युकमुदेनसा, खाम्बोङवासा लुम्बोङवासा र तेमेसा मात्र हो । केही मुन्धुममा सावायेतहाङसा याक्थुङहाङ पनि जोडेर भन्ने गरिएको छ ।
युमा तथा थाकथाक्मा मुन्धुममा गाउँ ठाउँको वर्णन गर्ने क्रममा ‘सुसुवा लिलिमहाङ याक्थुङ पाङफे’ भनेर उच्चरण गरिन्छ भने सोही यूमा मुन्धुममा फेदाङमाले मुन्धुम वाचन गर्दा सुरुमै ’लासा लाम्फे यधुङलुङ ग ताङसाङगे लाम्फे वधकलुङ वधुङगे केसिरी ईक्सा खाम्बेक युन्छेन तरङ ताङसाङए सुरेरो तई ताङबे सुरेरो सिन्युक मुदेन सुरे तिमेन्नी ....... सुरे लिम्बुजङ सव्जेसु लिम्बुजङ थाबासु‘ भन्दै शुरुमै लासाबाट आउने क्रममा ‘लिम्बु चङ थाबासु’ भन्दै अन्य वर्णन गरिन्छ । लिम्बु र याक्थुङ दुईटै शब्द सँगसँगै प्रयोग र प्रचलनमा आएको देखिन्छ । अझ त्यसमा लिम्बु चाही थोरै समय भए पनि अलि अघि प्रयोग र प्रचलनमा थियो कि भन्ने अनुमान हुन्छ ।
लिआबुबाट लिम्बु भए पनि, लिलिमहाङका सन्तान लिम्बु भनिए पनि या लुम्बोङबाबाट लिम्बु भनिए पनि या लुम्बासुम्बाबाट लिम्बु भनिए पनि लिम्बु समुदाय तथा बाहिरीयाहरुले लिम्बु शब्द नै पहिले प्रयोग तथा प्रचलनमा ल्याए भन्ने कुरा राय शब्द पछि लिम्बु शब्दहरू प्रयोग भएबाट अनुमान गर्न सकिन्छ ।
यसले लिम्बु शब्द बाहिरीय तथा संस्कृत आधार या संस्कृतवालाहरुले राखेको नभई मौलिक शब्द नै हो भन्ने देखाउँछ । याक्थुङ चाही १० लिम्बुवान राज्य बनेर यकहरु खडा भए पछि यकताम्बा या यकवासी भन्ने अर्थका प्रयोग हुँदै याक्थुङ प्रचलनमा आयो कि भन्ने अनुमान हुन्छ ।
यी शब्दहरूको अर्थ यकमा बस्ने या यक बासी भन्ने अर्थमा प्रयोग गरिएको हो । सुसुवादेन लिलिमहाङ याक्थुङ पाङफे पनि त्यही अर्थमा भनिएको हो कि भन्ने अनुमानका आधारमा यो भनिएको देखिन्छ । प्राचीन नेपाल उपत्यकाबाट हारेका बनेपा हुँदै पूर्व आएका किरात भनिएका याक्थुङहाङ सावायेतहाङसाका पछिल्लो पुस्ताका राजा लिलिमहाङका सन्तानको गाउँलाई यूमा मुन्धुममा ‘सुसुवा लिलिमहाङ याक्थुङ पाङफे’ भनिएको र सो खास मानव समूहलाई नै ईंकित गरेको भए त्यो पनि त्यतिकै पुरानो हो भन्ने देखिन्छ । यो शब्द लिम्बु समाजमा प्रचलनमा थियो र रहिरह्यो ।
त्यसपछि मुन्धुमहरूमा सावायेतहाङसाको सट्टा यदाकदा याक्थुङ शब्द प्रयोग भएको हो कि भन्ने बुझिन्छ । त्यही क्रममा फेदाङबा, येबा र साम्बाहरुले तुम्याडहरुको निर्देशन पछि मुन्धुममा कहीँ कहीँ याक्थुङ शब्दहरू थप्न थालेका हुन भन्ने प्रस्टिन्छ ।
हुन त केही व्यक्तिहरूको तर्कको आधारमा येत्हाङबाट याक्थुङ भएको हो भन्ने पनि गरिएको छ । तर यसको निरन्तरताको खण्डलाई हेर्दा येत्हाङबाट सावायेत्हाङ तथा सावायेतहाङसा मुन्धुममा प्रचलित र निरन्तर प्रयोगमा रहिरहेकोले येत्हाङबाट याक्थुङ भयो भन्न सकिने स्थिति छैन ।
यसलाई पुष्टि गर्न मुन्धुममा पनि सावायेत्हाङको ठाउँमा याक्थुङ प्रयोग हुँदै आउनु पर्दथ्यो । तर प्रयोग भएको पाइन्न । यस अर्थमा मानव समूहलाई जनाउन याक्थुङ भन्ने शब्द मुन्धुममा पाउन सकिन्न । नाहेन मुन्धुम, सामसोघा मुन्धुम लगायत धेरै मुन्धुममा सिन्युक साहा, मुदेन साहा, तेमेन साहा, वलक साहा, खाम्बोङबासाहा लुम्बोङबासाहा, सावाला साहा येत्हाङ साहा र समग्रमा सावायेत्हासा भनेर आउँछ भने यूमा र थाकथाक्मा मुन्धुम सहित केही एक–दुई मुन्धुममा मात्र मानव समुहकोरुपमा नभई ठाउँ र गाउको नाम लिँदा याक्थुङ तथा लिम्बु शब्द उच्चारण भएको पाइन्छ ।
धेरै मुन्धुमहरूमा याक्थुडसा भन्ने शब्द किन उच्चारण हुँदैन मानव समुहकोरुपमा मात्र सिन्युक साहा, मुदेन साहा, तेमेन साहा, वलक साहा, खाम्बोङबासाहा लुम्बोङबासाहा, सावाला साहा येत्हाङ साहा र समग्रमा सावायेत्हासा भन्ने किन उच्चारण हुन्छ ? त्यसको पनि जबाफ हुनु पर्छ । जे होस् लिम्बु समाजमा लिम्बु र याक्थुङ सँग सँगै प्रयोग र प्रचलन भएको भन्ने अनुमान गर्न सकिन्छ ।
किरात भन्ने शब्द मुन्धुममा पाइँदैन । किरात भन्ने एक बृहत् मानव समुहकोरुपमा आर्यहरूको यजुरवेद र आर्य साहित्य लगायत विभिन्न देशी विदेशी साहित्य तथा दस्ताबेजहरूमा पाइन्छ ।
किरातको अर्थ आर्यहरूले तल्लो दर्जाको मानव भनेर नाम दिएता पनि या विदेशी दस्ताबेजहरूमा अरू अर्थमा जनाइएको भए पनि यो इतिहासमा स्थापित शब्द हो । यसले एउटा लामो र बृहत् इतिहाससँगै सभ्यता बोकेको छ । केही लिम्बुहरूबाट ‘याक्थुङहरु किरात होईनन’ भन्ने एउटा एकोहोरो तर्क भएको देखिन्छ ।
सावायेतहाङसा भित्रको एउटा अंश लिम्बु (याक्थुङ) र लिम्बु (याक्थुङ) भित्रको एउटा अंश ÷ समूहलाई लिँदा यो तर्क ठिकै पनि होला भन्न सकिन्छ । लिम्बुहरूको मुन्धुममा सावायेतहाङसा भन्ने एउटा ठुलो मानव समूहको चर्चा भएको छ ।
लिम्बु (याक्थुङ), सिन्युक मुदेनसा, तेमेन वलकसा, खाम्बोङवासा लुम्बोङवासाहरु त्यही सावायेतहाङसाका अंशहरू हुन शाखा सन्तानहरू हुन भन्ने मुन्धुमले भन्दछ । शायद तिनै तेमेनसा सावायेतहाङसाका विभिन्न हाँगा तथा शाखाहरू जसको आर्यहरूसँग भारतीय भूमिमा जम्काभेट भयो र तिनीहरूले सावायेत्हाङसाहरुलाई आफ्नो भाषा संस्कृत र आफ्नै अर्थमा किरात भनेका होलान् भन्न सकिने ठाउँ छ ।
मुन्धुममा सावायेतहाङसाको उपस्थिति फेन्जेवा (कालीगण्डकी नदी) पारीको भूभागसम्म रहेको वर्णन भएको र तेमेन वलकसाहरु सिन्धु–गङ्गा–ब्रम्हापुत्र नदी मैदानका मानव समूह जनाउने भएकोले उक्त कुरालाई पुष्टि गर्न सहयोग गर्दछ ।
फेरी लिम्बु (याक्थुङ) भित्रका तेमेन वलकसा समूहका थेगिम, सेनिहाङ, कन्दङवा, सातरेनुहाङ, खोक्याहाङ, खजुम, पापो, खेवा लगायतका अन्य धेरै लिम्बु वंशहरूको माङगेन्ना मुन्धुमले नेपाल (काठमाडौँ उपत्यका) तिरबाट, काशी, मधेस तराई मैदान क्षेत्रबाट आएको बताउँछ जसले यो कुरालाई पुष्टि गर्न सहयोग गर्दछ ।
विवाद समाधानको बाटो :
लिम्बु समुदायमा ल्याइएको जाति, भाषा तथा धर्मको नाम के लेख्ने भन्ने विवादको समाधान धेरै अफ्ठयारो छैन ।
तर यो जर्बजस्त लिम्बु राष्ट्र विभाजन गर्न ल्याइएको विवाद भएकोले विवाद ल्याउने श्रोतहरूको विरुद्धमा समुदायका मानिस सबैले लाग्नु र तिनीहरूको विभाजनकारी सोच तथा बिचार विरुद्ध प्रतिरोध गर्दै गएमा समाधान छिट्टै हुन्छ ।
यी विभाजनकारीहरूलाई उपनिवेशकारी राज्य सत्ताले कुनै न कुनै तरिकाबाट मलजल गरिरहेकोले समाधानतिर जान उत्तिकै कठिन पनि छ । मिल्ने उपाय भए पनि उक्त उपायमा जान तिनै शक्तिहरूले भाँड्ने भएकोले समाधानमा लैजान चुनौतीपूर्ण छ ।
यसैले, तत्काल यसको समाधानमा जान नसकिए पनि अलि लामो समयमा समाधान गर्ने प्रक्रिया अवलम्बन गर्न सकिन्छ । यसो गर्दा अनिरन्तताको विरुद्ध निरन्तरता (Consistency vs inconsistency) मा निरन्तरता (consistency) लाई ध्यान दिइनु पर्दछ भने विभाजनतिर (Diverging) नभएर एकत्रित गर्ने (Converging) बाटो समात्न एकदमै जरुरी छ ।
पहिलो त, विवाद गर्ने पक्षहरूले आफ्नो दिमागमा भएको पूर्वाग्रही (Bias) मान्यतालाई स्थगित गरेर छलफलमा जुट्नु जरुरी छ । आफ्नो लिडे ढिपी राखेर र पूर्वाग्रही दिमाग बोकेर समाधानमा पुग्न सकिन्न । त्यस्तो दिमागले सेतोलाई पनि कालो देख्न पुगिन्छ ।
दोस्रो, लिम्बु भाषा तथा जाति कि याक्थुङ भाषा तथा जाति भन्ने विवादको सजिलो समाधान दुवै पहिचानलाई जनाउने शब्द लिम्बु (याक्थुङ) लेखिए या भनिए सहज समाधान निस्कन्छ । यसरी लिम्बु र सो सँगै कोष्ठ भित्र याक्थुङ लेखियो भने हाम्रो समाजमा चलिआएको लिम्बु र याक्थुङ दुवै प्रचलित पहिचानलाई समेट्छ ।
तेस्रो, धर्म नाम सम्बन्धमा ३ प्रकारको विवाद भएकोले यसको समाधान त्यति सहज छैन । परम्परागत किरात धर्म नाम र यूमा धर्म नाम चाही मुन्धुम पक्ष र अनुष्ठान तथा विधि विधान पक्षमा फरक नभएकोले धर्मको नाम के राख्ने भन्ने मात्र विवाद भएकोले दुवैका कमजोरी पक्षलाई हटाउँदै दुवैलाई स्वीकार्य धर्म नाम प्रस्ताव गरी छलफलमा लैजान सकिन्छ ।
त्यस्तो नाम प्राकृत अर्थात् एनिमिष्ट–सामानिजम पनि हुन सक्छ । यसै गरी अरू मिल्ने शब्द खोज्न सकिन्छ अर्थात् यूमा लाई स्वीकार गर्न पनि सकिन्छ तर त्यो समग्र आदिवासीहरूको लागी मिल्दैन । हाम्रो भाषाको नाम अरूले स्वीकार गर्ने सम्भावना रहन्न । यसैले, सबै कुरामा मौलिकता खोजेर हुँदैन । अहिलेको भूमण्डलीकरणको युगमा सबै आदिवासीहरुसंग मिलेर जाने आधार पनि बनाउनु पर्छ तब मात्र हामीलाई सखाप पार्ने विरुद्ध बलियो मोर्चा बनाउन सकिन्छ ।
चौथो, सत्यहाङमा किरातसँग परम्परागत किरात तथा यूमाको नाम मात्र विवाद नभएर दार्शनिक पक्ष, मुन्धुम पक्ष र अनुष्ठान तथा विधि विधान पक्षमा पनि विवाद रहेको छ । तर यी ३ वटै धर्म नामका समूहलाई निर्देशित गर्ने मूल सिद्धान्त मुन्धुम नै हो ।
यसर्थ, परम्परागतता प्रचलनमा रहेको मुन्धुमलाई आधार बनाएर त्यसलाई पाच्य हुने दार्शनिक पक्ष र सोही मुन्धुम अनुसारका अनुष्ठान, विधि विधान, संस्कार, संस्कृति तथा कर्मकाण्डहरूका सम्बन्धमा छलफल गर्दै निष्कर्षमा पुग्न सकिन्छ । यो अलि लामो प्रक्रिया भए पनि विभाजित गर्ने (Diverging) नभएर एकत्रित गर्ने (converging) बाटो भएकोले अलि लामो समयमा सबै एउटै विन्दुमा पुगिन्छ ।
यस कार्यमा सचेत लिम्बु अगुवा, बुद्धिजीवी, बौद्धिक जगत्, चासो राख्ने समूह र सर्वसाधारण सबैले वादविवादमा लागेका पक्षहरूको पक्षमा नलागी यही बाटो यही कुरालाई अगाडी बढाएको खण्डमा चाडै समाधान निस्कन्छ र वादविवाद गर्ने पक्षहरूलाई समाधानको बाटोमा जान कर लाग्छ ।