• मनोज कुमार कर्ण
नेपालीमा बौद्धनाथ, नेवारीमा खास्ति चैत्य तथा खासा चैत्यको नामले चिनिने बौद्ध स्तूपा काठमाण्डौंको मापन केन्द्रदेखि उत्तर-पूर्वी दिशामा करिब ११ किलोमिटर (९ दशमलव ८ माइल) बौद्ध सडक, काठमाण्डौंको ४४,६०० मा चौबिसै घण्टा खुला रहने एउटा विश्व प्रसिद्ध बौद्ध दर्शनार्थीहरूको पवित्र तीर्थस्थल मण्डला हो ।
चाबहिलबाट पनि पुगिने उत्तर पूर्वतर्फ अवस्थित यस बौद्ध स्तूपाबारे जानकारी गुगलमा विकिपीडियाबाट लिँदा ऊँचाइ ३६ मिटर ९११८ फिट हो भने तिब्बतबाट काठमाडौँको संखु भएर प्रवेश गर्ने सबभन्दा प्राचीन व्यापारिक मार्गको बाटोमा यो ठुलो स्तूपा पर्छ जुन चाबहिलको चारूमति लघु बौद्धनाथ सम्म पुग्छ । 
युनेस्कोले यस धार्मिक बौद्ध स्तूपालाई विश्व सम्पदा सूचिमा सांस्कृतिक धरोहर भनी क्राईटेरियाको २ वटा तह अन्तर्गत डिजाईनेटेड सन् १९७९ मा र रिभाईज्ड भने सन् २००६ मा सूचिकृत भएको पाइन्छ । पछिल्लो पटक सन २०१५ को भुईँचालोले नेपालमा खास गरी काठमाण्डौंमा व्यापक क्षति पुर्याउदा यस भीमकाय बौद्ध स्तूपाको माथिल्लो गुम्बजलाई ढालिदिएका लगायत अन्य भौतिक संरचना ध्वस्त बनाएको थियो । त्यसलाई श्रीबौद्धक्षेत्र विकास समितिको विशेष पहलमा सन् २०१५ को अक्टोबर महिनादेखि करिब २ दशमलव १ मिलियन अमेरिकी डलर तथा ३० किलो सुनको लागतमा पुनर्निर्माण गरिएको थियो । पून:निर्माणपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन भई २२ नोभेम्बर सन् २०१६ बाट दर्शनार्थीहरूको लागि पुनः खोलिएको थियो ।
तिब्बती बौद्धमार्गीहरू शताब्दियौं देखि यस बौद्ध स्तूपामा प्रार्थना गर्दै आएका थिए । सन् १९५० को दशकमा उनीहरू शरणार्थीको रूपमा भए पनि यस क्षेत्रलाई बनाउन सघाउँदै आएको पाइन्छ । चाबहिल नजिकको यस स्तूपाभित्र कसप्पा बुद्धको अवशेष रहेको मानिन्छ । यस सम्बन्धी प्रायः दुईटा उपाख्यान रहेको पढ्न र सुन्न पाईन्छः नेवा उपाख्यान र तिब्बती बौद्धमार्गी उपाख्यान ।
नेवा: उपाख्यान 
यस उपाख्यान अनुसार काठमाण्डौंको हाल नारायणहिटी दरबार सङ्ग्रहालय रहेको ठाउँमा लिच्छवि वंशका राजा विक्रमादित्य बस्थे । जसले नगरको खडेरी हटाउन दक्षिणतिर ढुङ्गेधारा निर्माण गराए । तर पानी आएन अनि ज्योतिषीको सल्लाह अनुसार ३२ लक्षण सम्पन्न एक जना पुरुष मान्छेको बली दिनुपर्ने भयो । उक्त लक्षणयुक्त कोही नभई स्वयं राजा विक्रमादित्य तथा उनका छोराहरू रहेकामा जनताको सुखको लागि आफ्नै छोराको हाथले आफैलाई राजा विक्रमादित्यले बली चढाउन लगाएका थिए ।
बलीको बेला राजा विक्रमादित्यको टाउको उडेर संखु बज्रयोगिनी मन्दिरनेर खसेको थियो । त्यही ठाउँमा कुखुरीले चल्ला कोरल्न ओथारा बसिन । त्यहीँ बौद्धनाथ स्तूपा निर्मित भएको हो । त्यस बेला सुक्खापन तथा खडेरीबाट बच्न शितको थोपा सङ्कलन गर्ने ठाउँ त्यहीँ रहेकोले त्यसको नाउँ खास्ति पनि पर्न गयो । नेवार भाषामा शीतलाई खास पजबकू र थोपाहरूलाई ति मचयउकू भनिन्छ । पछि तत्कालीन श्री ५ को सरकारले उक्त ठाउँको नामकरण हिन्दुत्व झल्कने गरी बौद्धनाथ नामकरण गरेको हो ।
तिब्बती बौद्धमार्गी उपाख्यान 
यस उपाख्यान अनुसार कश्यपा वा कस्सपा स्तूपालाई घेर्ने गाउँ क्षेत्रलाई बौद्ध भनिन्छ भने तिब्बती भाषामा याम्बु चोर्टन चेम्पो । यसको आफ्नै रोचक कथा छ । वास्तवमा २९ बुद्धहरू मध्ये २७ औँ बुद्ध (The Buddha) भनेर चिनिने कश्यपा वा कस्सपा २९ औँ बुद्धलाई शाक्यमुनि बुद्ध भन्दा अघिल्लो मर्यादाक्रममा राखिन्छ ।
यस उपाख्यानमा भनिन्छ कि कश्यपा वा कस्सपा बुद्धको देहावसानपछि एउटी वृद्धा कुखुरा पालक महिला माझाजिमा आफ्ना चार जना छोरा सहित यस बौद्ध स्तूपा भन्ने ठाउँमा पुगिन र स्तूपा निर्माण गराएकी थिइन् । उनले स्तूपा बनाउन अघि राजासँग जमिन माग्दा राजाले राँगाको छाला जति क्षेत्रफल जमिन मात्र दिने भने तर त्यतिले स्तूता निर्माण असम्भव रहेकोले ती वृद्धाले विवेक प्रयोग गरिकन राँगाको छालालाई पात्लो धागो जस्तो चिरेर गोलो पारिकन ठुलो क्षेत्रफलको गोलाकार पारिन् र राजाले वचन बमोजिम जमिन उपलब्ध गराए । 
उनी अति निर्धन गरिब र वृद्धा महिला थिइन् । उनी र उनका चार छोराहरूले त्यति जमिनमा बनाउँदै गरेको बौद्ध स्तूपा देखेपछि दरबारमा ठाटबाट गरी विकास कार्य नगरीकन बस्ने दरबारियाहरूलाई लाज लाग्यो । ईर्ष्याले जल्दै त्यस बौद्ध स्तूपालाई राजाले भत्काउने र आफूहरूले पहाड जत्रो बनाउने बिन्ती दरवारीयहरुले राजा कहाँ बिसाए ।
तर राजाले वचन नफेर्ने घोषणा गरेर उनै महिलालाई नै स्तूपा निर्माण गर्ने सहमति दिए । त्यसैले त्यसलाई ज्या रूङ्ग खशोर चोर्टन चेन्पो भनिन्छ । समयक्रममा पछि चिनियाँ प्रथम लामा नेपाल आएर नेपालका शासकलाई तिब्बत सँगको युद्धमा वार्तालापमा सघाएकोले निज लामालाई विहारको लागि तथा स्तूपा नेर उनको निवासको लागि पनि उपहार स्वरूप जमिन प्रदान गरियो । जङ्गबहादुर राणाकी तामाङनी श्रीमतीबाट जन्मेकी छोरीसँग उही लामाको बिहे गराइँदा एकसाथ राणा तथा तामाङ समुदायसँग जोडिन पुगे ।
पुनर्उद्दारकोको पर्खाईमा 
दुवै उपाख्यानबाट चाबहिल बौद्ध स्तूपा विश्व सम्पदामा सूचीकृत धरोहर नेवार, तामाङ, लामा लगायत समुदायगत रूपमा बौद्ध, नेवार, सनातन हिन्दु सबैको लागि उत्कृष्ट धार्मिक आस्था तथा ऐतिहासिक पर्यटकीय क्षेत्र हो । तर उक्त बौद्ध स्तूपा तुसाल भन्दा अगाडि बढ्दा पूर्ण नयाँ मान्छेले फेला पार्न सक्दैनन् । त्यसको प्रवेशद्वार बिच सडकमै छ । यसो हुनुको कारण बौद्ध स्तूपा क्षेत्र बाहिरबाट घरहरूले घेरिएकाले देखिँदैन । भित्र परिसरमा पनि उचित सरसफाइ, भुईँमा बिछ्याइएका जीर्ण ढुङ्गा तथा चट्टानहरू फेरिएका छैनन् । खिइएका छन्, पानपराग, गुट्खाका प्याकेटहरू फालिएका, पान खाएर पीक फालिएका, प्लास्टिकभित्र फोहर कुनामा राखिएका अति भीड र अस्तव्यस्त बाजारको दृश्यहरू देखिन्छन् ।
अरू त अरू विश्व सम्पदा सूचीको मापदण्ड अनुसार तोकिएको सरहद भित्रबाट घरहरू हटाइनु पर्नेमा अझ सूचीकृत भइसकेपछि चाहिँ घरहरू थपिएका छन् । अर्थात् कम्तीमा ३/४ सय घर तत्काल भत्काउनु पर्ने देखिन्छ । काठमाण्डौं महानगरपालिका प्रशासनले महानगरभित्र पार्किङ, धार्मिक क्षेत्र, ऐतिहासिक सम्पदाहरूको संरक्षणमा अतिक्रमणहरू हटाउने काम तीव्र पारेको छ । तर यस बौद्ध स्तूपामा यतिकै जाम, जथाभाबी सवारी साधनहरू रोक्ने, कोलाहल आदि अव्यवस्थाहरू देखिन्छन् ।
उपसंहार
विश्व सम्पदा सूचीकृत बौद्ध स्तूपा केबल नेपालीको नभई विश्व मानव समाजकै अभिन्न अङ्ग बन्न पुगेकोले हरेक समुदायका मान्छेले यस बहुधार्मिक सङ्गम तीर्थस्थलको संरक्षण सामूहिक प्रयासमा नै गर्नुपर्ने देखिन्छ । गणतान्त्रिक नेपालमा सबै धर्म र धार्मिक स्थलहरूको संरक्षण भई साँच्चिकै साझा कर्तव्य पालन भएको देखिनु जरुरी छ । उक्त धार्मिक क्षेत्रलाई सार्न सकिँदैन । तसर्थ, अतिक्रमित बौद्ध स्तूपा क्षेत्रको जमिनलाई काठमाडौँ महानगरपालिकाले तुरुन्त खाली गराउन जरुरी छ । बौद्ध स्तुपाको सुन्दर दृश्यता र भव्यताको लागि अन्य घरहरूलाई पनि मुआब्जा दिएर अन्तै सार्न सकिन्छ । त्यहाँको अव्यवस्थित पार्किङ, सार्वजनिक सवारी रोक्ने काम बन्द गरिनु पर्दछ । 
-लेखक पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुरका उपप्राध्यापक हुन् ।