- रोहित कुलुङ राई
दशैं मनाउन जन्मथलो गाउँ जाने निधो गरेपछि २०८० साल असोज ३ गते शुक्रवार बिहान ४ बजे मोबाइलको घण्टीले निन्द्रा खुल्यो । ड्राइभरको फोन रहेछ ‘दाइ लोकेसन कता हो, धरान कुन ठाउँमा हो ? म ड्राइभर बोलेको, म आउदैछु ।’
गहिरो निन्द्राबाट झसङ्ग हुँदै चालकलाई लोकेसन बताइयो । पहाड, आफ्नो गाउँ जाने अनुभूतिले निकै दिन देखि खुसी भएकी छोरी उठेर तयारी हुन थालिन् । हामी सँगै गाउँ जाने सबैलाई फोन गरेर छिटो आउन भन्दै फोन गरियो । परिवार सबै तयारी हुँदै गर्दा गाडी आइपुग्यो ।
एउटै गाडीमा गाउँ जाने मामा दाइ भाउजू बहिनी नानीहरू जम्मा भएर शहरका केही कोशेलीका पोका र झोला गाडीको हुटमा लगाउन थालियो । गाडीमा उल्टी गर्ने र नगर्ने बिच अगाडि पछाडि सिट मिलाएर सुमो गाडीमा सबै बस्यौँ ।
यात्रा सुरु भयो, धरानबाट भोजपुर, कुदाक काउले हुँदै कोले गाउँतिर । जन्मेको गाउँ बालपनमा खेलेको ठाउँ अनि आमा बुबाको न्यानो काखमा पुग्ने खुसीले छोरी भन्दा बढी म आफै फुरुङ्गै थिएँ । धरानबाट उकालो लागेपछि भेडेटारको चिसोले यात्रालाई रमाइलो बनाई रहेको थियो ।
गाउँ जाने गाडीको लर्को देख्दा गाउँमा चाडपर्वमा मात्र चहलपहल हुने अरुबेला शून्य रहने विषयमा मामा दाइ सँगको बहसले राम्रै टाइमपास गर्यो । गाडीमा बजेको गीतमा मन नचाउँदै, हाँसी मजाक गर्दै तमोर नजिक फेदीमा खाजा खान रोकियौँ ।
धनकुटा हिले पार गरेपछि गाउँका दृश्यहरू देखिन थाले । मन आनन्दित भयो । यात्रा लेगुवा पुगे पछि सप्तकोसीको सात नदी मध्ये ठुलो अरुणको शान्त बहाव निलो सङ्लो पानी सँगै अक्करको भीर पार गर्दै थियौँ । पहिले धरानबाट नुनको ढाकर बोकेर हिँडेको बाटोको सम्झना गर्दै अग्रजहरूले बताएको कुरा कथा जस्तै लाग्ने बाटोमा यात्रा गरिरहेका थियौँ ।
बिहानको ९ बजे विश्वकै होचो उपत्यका अरुण उपत्यका स्थित तुम्लीङटार बजार पुग्यौ । त्यहाँका पसलहरूमा पहाडी खोलाको असला माछा पेरुङ्गोमा बेच्न राखेको देख्दा मुख रसायो । सङ्खुवासभाको तुम्लीङ्गटार मनकामना र भोजपुर दिङ्ला बालगुरु षडानन्द विद्यापीठ जोड्ने अरुण नदीमा पुल नबन्दा अझै खतरापूर्ण फेरिबाट गाडी तार्नु पर्ने बाध्यता कायमै छ ।
सतिघाटको झोलुङ्गे पुल अरुण नदिको मनोरम दृश्य वर्णन गर्न शब्दले पुग्दैन । सतिघाटमा बिहानको खाना खाने भयौँ । ठेट गाउँले खाना स्वादिष्ट परिकार रुख टमटरको चटनी सदा भन्दा धेरै खाना खाइयो ।
त्यहाँबाट अर्को गाडीमा हाम्रो यात्रा भोजपुरको दिङ्ला तिर अगाडि बढ्यो । पवित्रभूमी अबला ब्रह्मचारी षडानन्दले शिक्षाको लागि क्रान्ति गरेको ठाउँ दिङ्लाबाट जन्मथलो षडानन्द नगरपालिका वाड २ कोले गाउँ तिर सुमो गाडी अघि बढ्यो ।
रुद्राक्षको राजधानी चिउरीबोटे, ल्याङ्ग, चिर्खुवा खोलाको कल्कलाउदो पानी देख्दा माइती पुग्न लागेकी छोरी झैँ खुसी लागिरहेको थियो । नेपाले डाँडाको सोमबारे बजार, कुदाक काउलेको बिहीबारे बजारको कक्षा ६ देखि ८ सम्म पढेको साबित्रा मावि पुग्दा नेस्टाल्जिक भइयो । अब भने गाउँ धानेर बसेका अग्रजहरू भेट्न र देख्न थालियो ।
त्यहाँका माटो खोला खोल्सीले पनि स्वागत गरेझैँ महसुस हुन्थ्यो । कखरा सिकेको आमाको काख पछिको पाठशाला श्री ईच्छावती प्रावि ताँवु पुग्दा भावुक भएँ । संसारमा आमाको पवित्र कोखबाट धर्तीमा टेकेको कोले गाउँ पुग्दा दिनको १ बजेको थियो ।
आफ्नो छोरा बुहारी छोरी र नातिनी घरमा आई पुग्दा बुबा, आमा खुसीले गद्गद हुनुभयो । बुबा आमालाई खुसी देख्दा भावुक र हर्षित नहुने कुरै भएन । आफ्नो जन्मथलोलाई देउता बस्ने गाउँ भन्ने गरेको छु मैलो । यसको एउटा किस्सा छ ।
दुई वर्ष अघि ‘देपा’ (ठुलो बुवा)को छोरा ठाकुर दाइलाई दाइ गाउँ नजाने ? भनेर सोधे दाइको अहिले सम्झन लायक जवाफ दिनु भएको थियो ‘त्यो गाउँ मान्छे बस्ने हैन देउता बस्ने गाउँ हो केटा ।’ दाइले कुन अर्थमा त्यसो भनेका थिए कुन्नी मेरो अन्तर मनले भन्यो ‘हो मेरो जन्म गाउँ कोले देउता बस्ने गाउँ नै हो ।’ सिमेभुमे, चारी, देवी देउराली, सिकारी, बुढेनीकै वासस्थान । हरेक घरमा वृद्धा बुबा आमा बस्नु हुन्छ उहाँहरू पनि देउता नै हुन भन्ने लागेको थियो ।
दशैले गाउँको घरहरू कमेरो र रातो माटोले चिटिक्कै थियो । सधैँ शून्य रहने गाउँमा हल्ला खल्ला चहलपहल बढेको थियो । घरमा बुढाबुढी बुबा आमा हुँदा पकाउने सानो भाडा कराई थन्काउँदै आमाले ठुलो भाडा कराई माझ्न थाल्नु भयो ।
दशैको रमझम रमाइलो हुँदै गयो । कोदोको तीनपाने सुँगुरको पोलेको मासुले शहरको ब्रोइलर र बियरको स्वाद बिर्सायो । लोकल कुखुरा र घुरेनमा फलेको अकबरेले शहरको सर्दी स्वाह नै बनाई दियो । तर गाउँ घुम्दै जाँदा रित्तो गाउँको पीडा सुन्दा सरकार, नेता अनि आफैलाई गाली गर्न बाध्य बनायो ।
दशैको ५ दिन तिहारको ३ दिन बाहेक गाउँको हरेक घरमा बुढाबुढी आमाबुबा मात्र हुँदा रहेछन् । स्कुल पढ्ने उमेर नपुगेका बाल बच्चा मात्र गाउँमा रहँदा रहेछन् । बिरामी पर्दा स्वास्थ्य चौकी सम्म लैजाने मान्छे पनि नहुने रहेछ ।
गाउँमा हिजो भन्दा केही सुविधा चैँ पुगेको रहेछ । बिजुली, कच्ची सडक, टेलिकमको टावर, इन्टरनेट र केही आधुनिक भनिने पश्चिमी संस्कारहरू गाउँ सम्मै पुगेका छन् । हिजो यी सुविधा नहुँदा पनि गाउँ भरि भराऊ थिए । आज गाउँमा सुविधा पुग्दै गएको छ तर बस्ने मान्छे सकिँदै गएका छन् । गाउँ दिन प्रतिदिन रित्तिँदै गएको छ ।
शहरका खाद्यान्न र पेय पदार्थ पैसा हुँदा त सबै किनिखान सकिने अवस्था भएको छ । बिस्तारै टिपिकल गाउँले खानालाई शहरीया खानाले विस्थापित गर्न थालेको स्थानीय व्यवसायी कुल बहादुर तामाङ दाइले बताए ।
गाउँमा दूध, दही, महिको सट्टा कोक पेप्सी जस्ता पेय पदार्थ मन पराउन थालेका रहेछन् । गाउँको लोकल रक्सी, जाँड भन्दा बियर, सिसीको ह्विस्की पिउन थालेका रहेछन् । विकास पनि हुनुपर्छ विकासको नाममा स्थानीय चिजलाई विस्थापित हैन स्थानीय चिजको जर्गेना पनि जरुरी छ ।
असोज ८ गते बिहान षडानन्द नगरपालिका वाड २ कुदाक काउलेका वडा अध्यक्ष विष्णु घिमिरे मामा सँग भेट भयो । रित्तो गाउँको बारे उहाँले भन्नू भयो “गाउँमा मान्छे बस्दैनन् युवाहरू त झन् पटक्कै छैनन् शहरका निजी स्कुल पढाउने बढेपछि गाउँको विद्यालयका विद्यार्थी घट्न थालेका छन् ।’
बिरामी हुँदा बोकेर सडक सम्म पुर्याउने मान्छे पाइँदैन, मृत्यु हुँदा मलामी नपाउने दिन आउन सक्छ, अब गाउँ फर्क अभियान केन्द्रीय सरकारले ल्याउनु पर्छ भन्ने सम्म उहाँको भनाई छ । तर गाउँमा जीवन बिताउन सक्ने अवस्था भने सकिएको छैन । अलैँची, सुन्तला, घ्यु फल र रुद्राक्षबाट आम्दानी गर्न सकिन्छ । बजार सम्म पुर्याउन सडक बने पछि सहज भएको छ । उहाँको भनाई छ ‘तर पनि युवाहरूको मोह विदेश तिरै छ, स्थानीय सरकारको पहलमा मात्र गाउँ छाड्ने लहरलाई रोक्न सकिँदैन ।’
दाइ पुष्पा चौलागाईको तर्क छ “उच्च सोच, दिमाग भएको विकसित देशमा नागरिक जन्म वृद्धि रोकेर गरिब मुलुकको जनताको जन्म वृद्धि गर्ने र शासन गर्ने अभिलाषामा गरिब मुलुकको कामदार प्रयोग गर्ने नीति अन्तर्गत अबको केही समय पछि नेपालका गाउँ मात्र हैन सहर पनि खाली हुनेछ ।”
गाउँका घरहरू घुम्दै जाँदा वृद्धहरू मात्र भेटिन्छन् । कसैको छोरा, छोरी विदेशमा, कसैका सहरमा र प्रायः घरका बुहारीहरू बच्चा पढाउन सहरमा नै बस्छन् । छोरा, बुहारीले सहर लाने भन्दा पनि नगएर गाउँमा नै बसेकाहरू गाउँमै छन् ।
उनीहरू भन्छन् ‘यही गाउँमा जन्मेर जीवन बित्यो अब मर्ने बेला किन सहर जानु त्यो एउटा कोठामा कैद हुन ।’ सहर भन्दा उतिसका रुख र बन्सोले जगंल भएको आफ्नै खेतबारी हेर्दै बस्नुमा आनन्द मिल्छ नानी, भन्ने वृद्धावस्थाका ज्येष्ठ नागरिकहरू पनि भेट भयो । उनीहरू भन्छन् ‘छोरा, बुहारी, नाति नातिनीको माया त मोबाइल बाटनै लिँदै छौ है ।’
गाउँको दशैको रमझम रित्तो गाउँको कथा व्यथा सँगाल्दा सँगाल्दै दिन पूर्णिमा सम्म बितेको पत्तै भएन । गाउँका केही पोका कोशेली अनि बुबा, आमाको माया बोकेर सफा हावा कलकलाउदो पानी मनोरम दृश्यलाई ओझेल पार्दै कर्मथलो फर्कने यात्रा पुनः थाल्यौँ । रित्तो गाउँ भरिभराउ बनोस् भन्ने कामना गर्दै सिमे, भुमे, देवी देउराली, नाकनगेनी सिकारी बुढीनीलाई ढोग्दै जन्मथलोबाट बिदा भयौँ ।