चतरा : कुनै समय ढल्किँदो उमेर लागेपछि मानिसहरू तीर्थाटनमा निस्कन्थे । त्यो नेपाली संस्कृति, परम्परा धार्मिक भावनाबाट सुरु भए पनि नयाँ ठाउँ, नयाँ नयाँ भूगोल, प्रकृतिको आकर्षणको मुख्य भूमिका हुन्थ्यो । पछिल्लो समय संसारमा विकास भएको पर्यटनको आकर्षणहरूमा धार्मिक, ऐतिहासिक, प्राकृतिक भूगोल रहेको पाइन्छ । मानव सभ्यताको विकास धार्मिक स्थलहरू सँग जोडिएकाले पनि एक्काइसौँ शताब्दीको पर्यटन धार्मिक र सांस्कृतिक कुराहरूमा केन्द्रित भएको हो । अब ऐतिहासिक धार्मिक स्थलहरू तीर्थाटन नभई पर्यटनको आकर्षणको बनेको छ । नेपालको पर्यटन विकासको मुख्य आधार त्यस्तै गन्तव्यहरू हुन् ।
पूर्वमा रहेको नेपालको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्त्वको बराहक्षेत्र मुख्य पर्यटकीय गन्तव्य हो । इतिहास, प्रकृति र तीर्थस्थलको सङ्गम वराहक्षेत्रमा समेटिएका ठाउँहरू पर्यटनको प्याकेजको रूपमा रहेको छ । सुनसरीको इनरुवा उत्तर धरान बाट पश्चिम स्थित वराहक्षेत्र हिन्दु धर्मका विश्व प्रसिद्ध चार धाम मध्ये एक धाम हो । उदयपुर र धनकुटा जिल्लासँग सीमा जोडिएको सुनसरीको धरान, रामधुनी र कोसी गाँउपालिकासंग जोडिएको बराहक्षेत्र सप्तकोसी नदी किनारमा अवस्थित छ ।
वराहक्षेत्र धाम
वराहक्षेत्र नेपालको १०० पर्यटकीय स्थलको सूचिमा अङ्कित धार्मिक क्षेत्र हो । वराहक्षेत्रधामको मन्दिर परिसरमा १५ सय वर्ष पुराना पुरातात्त्विक महत्वका मूर्तिहरू छन् । सप्तकोसी नदीले धनकुटा सिमाना छुटाएको बराहक्षेत्रको उल्लेख वराह पुराण र स्कन्द पुराण र महाभारतमा उल्लेख छ । पृथ्वी समुन्द्रको रसातलमा डुब्न लागेको बेला भगवान वराहले बँदेलको रूपमा डुब्न लागेको पृथ्वीको उद्धार गरेको धार्मिक विश्वास गरिन्छ । भगवान् शिवको उक्त बँदेल अवतार बराहक्षेत्रमा भएको हो । धर्मशास्त्रमा उल्लेख भएको यही मान्यताका आधारमा वराहक्षेत्र लाई संसारको पहिलो धाम मानिन्छ । यहाँ वराह अवतार विष्णुको पूर्ण कदको मूर्ति छ ।
धरानदेखि २५ किलोमिटर उत्तर–पश्चिम स्थित वराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप विक्रम सम्बत् १९९१ सालमा निर्माण गरिएको हो । १९९० सालको भूकम्पबाट मन्दिर भत्किए पछि जुद्धशम्शेरले उक्त मन्दिरलाई पुनर्निर्माण गराएका थिए । वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्य वराह, कोका वराह र नागेश्वर लगायतका ९ वटा मन्दिरहरू छन् । मन्दिर क्षेत्रमा १५०० वर्ष पुराना मूर्तिहरू पाइएका छन् । वराहक्षेत्र पूर्वको केन्द्रीय गन्तव्य बनाउन धार्मिक पर्यटनका पूर्वाधारहरूको विकासका काम भइरहेका छन् ।
वराहक्षेत्र भएर बगेको कोसी नदीमा जलक्रीडा र नौकाशयरका आकर्षण थपिएको छ । वरपरका धारा, पर्वत, वन जङ्गल तथा त्यहाँबाट देखिने रमणीय दृश्यहरूले धार्मिक यात्रामा आएकाहरूले पनि पर्यटनको आनन्द उठाउँदै आएका छन् । धार्मिक एतिहासक महत्त्वसँगै मनोरम दृश्य, शान्त वातावरणले वराहक्षेत्रको धार्मिक महत्त्वमा थप पर्यटकीय आकर्षण बढेको छ । शान्त सप्तकोसी, किनारमा सुन्दर डाँडाकाँडा यहाँको प्राकृतिक आकर्षण हो ।
पुरातात्त्विक महत्त्व
चतरा देखि माथिल्लो जङ्गल क्षेत्रमा पर्ने अमृतगाछी इतिहास अध्ययन गर्न विद्यार्थीका लागि महत्त्वपूर्ण छ । वन क्षेत्रमा नव पाषाणकालीन ढुङ्गे बन्चरो राजेन्द्र विक्रम पृथ्वी विक्रम राजाका शासनकालका मोहर, डोरी र ढुङ्गा कुदिएका विभिन्न आकृतिहरू भेटिएका छन् । जङ्गलभरि इँटा छापिएका ठाउँ ढुङ्गाका पर्खाल कीट र ढुङ्गाका ओखल भेटिएको हुँदा कुनै समयको ठुलो बस्ती थियो भन्ने प्रमाण भेटिएको छ । त्यसको पुरातात्त्विक दृष्टिले उत्खनन भने हुन भने सकेको छैन ।
चतरा कुम्भ क्षेत्र
पछिल्लो समय चतरा कुम्भ मेला सँग जोडिएको छ । नेपालमा पहिलो पटक जगद्गुरु वालसन्त मोहनशरमनले देवाचार्यको पहलमा २०५९ सालमा चेत ६ गते देखि १ महिना सम्म चतरामा महाकुम्भ मेला आयोजना भयो । भारतको प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा लाग्ने कुम्भ मैलामा सहभागी भई सकेका नेपालीहरू पहिलो ऐतिहासिक महाकुम्भ मेलामा लाखौँको सङ्ख्यामा सहभागी भए ।
यसपछि २०६३ सालमा अर्ध कुम्भ मैलाले चतराधाम लाई संसार भर चिनायो । वराहक्षेत्र, बिष्णुपादुका, दन्तकाली, पिण्डेश्वरी, बुढासुब्बा, रामधुनी निकट चतरा यसअघि ओझेलमा परेको थियो । धरानबाट १४ किलो मिटर र इटहरीबाट १६ किलो मिटर दुरी स्थित चतराक्षेत्र प्राचीन कुम्भ नगर भएको बालसन्त मोहनशरणले बताउँदै आएका छन् । चतरामा तेस्रो कुम्भ मेला २०७० चेत १७ देख ३३ चलेको थियो । २०७५ र २०७६ सालमा आयोजना भएको चौथो कुम्भ मेलापछि चतरा कुम्भको राजधानीको रूपमा स्थापित भएको छ ।
कोसी टप्पु
जैविक विविधतका खोजकर्ताहरूले चराको राजधानी भनेको कोसी नदी आसपास समेटिएको कोसी टप्पु अर्ना आरक्ष प्राकृतिक सौन्दर्यपूर्ण छ । आगन्तुक चराहरू सँगै कोश टप्पुमा जल विहार, जङ्गल सफारी, हात्ती सयरकालागि टप्पु विदेशी पर्यटकको रोजाइको क्षेत्र हो । चरा हेर्न, तस्बिर खिच्नकै लागि स्वदेशी, विदेशी कोसी टप्पु आउँछन् । आरक्षमा ५ सय २८ प्रजातिका चरा पाइन्छ । साथै विश्वमा दुर्लभ बबुलिस प्रजातिको अर्ना आरक्षको मुख्य आकर्षण हो । हरिण, नीलगाई अवलोकन गर्न विदेशी र स्वदेशी पर्यटकहरू कोसी टप्पु आउने गरेका छन् । टप्पु वराहक्षेत्र वडा ९ र ११ मा पर्दछ ।
कोसी नदी आसपासका इलाकामा अत्यधिक चिसो भएपछि रुसको साइबेरियादेखि चराहरू कोसी यहाँ आउँछन् । टप्पुमा लामो दुरी तय गरेर आउने चराहरू हाँस प्रजातिका हुन । हाल कोसी टप्पुमा ठुलो जलेवा, चखेवा, खोया हाँस लगायतका चरा देखिन्छन् । उपयुक्त मौसमी पर्यावरणको कारण कोसीमा चराहरू जाडो छल्न मात्र होइन सगरमाथा भन्दा माथिको उचाइबाट उड्दै बच्चा कोरल्न आउने गर्छ ।
नेपालीमा खोया हाँस भनिने बारहेडेड गुज चरा सगरमाथा भन्दा माथिबाट उडेर आउने चरा विज्ञहरू बताउँछन् । यो चरा १३ हजार मिटर माथिबाट आउने गरेको बताइएको छ । हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननकालागि पक्षीहरू यस वर्ष उत्तरी गोलार्ध बाट दक्षिणी गोलार्धमा बसाइँ सर्दै कोसी टप्पुसम्म आउने गरेका हुन् । एकथरी चराले अन्तर देशीय सीमाको लामो दुरी पार गर्दै साइबेरियादेखि आउने केही चरा नेपालकै उच्च पहाडी भूभागबाट छोटो दुरीको बसाइँ सरी आउने गरेका छन् ।
चिसो वातावरण, छिनछिनमा मौसम परिवर्तन हुने विशेषताले बराहक्षेत्रको सुर्यकुण्डमा आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बनेको छ । रमाइलो भेटघाट, युगल प्रेमी, पारिवारिक घुमघामका लागि सुर्यकुण्ड सबैको रोजाई बनेको हो । पछिल्लो समय स्थानीय सरकार गठन भएपछि प्रकृतिकस्थल लाई पर्यटकीय बनाउने क्रममा वराहक्षेत्र–१ स्थित सूर्यकुण्डले प्राथमिकता पाएको छ । सूर्यकुण्ड चतरा तथा धरानको मंगलबारे हुँदै पडाडि कच्ची बाटो बाट पुग्न सकिन्छ । धनकुटाको आहाले र धरानको बिष्णुपादुकासंग जोडिएको सुर्यकुण्डमा मोटरसाइकल, साना भ्यानको सवारी चल्छ ।
सुर्यकुण्डबाट चतरा बजार, सप्तकोसी नदी, कोका खोला, खोल, हरियाली डाँडा, छहाराका प्राकृतिक दृश्यावलोकन आनन्ददायक हुन्छ । यहाँ जङ्गबहादुरले रोपेको बिपलको रुख, आदि वराह सुर्यकुण्ड, भवानीथान, गप्तेश्वर मन्दिरहरू छन् । यसले सूर्यकुण्ड ऐतिहासीकस्थल भएको प्रमाण दिन्छ । स्थानीय आदिवासी जनजातिहरूमा जातीय संस्कृति कला, रिति रिवाज, भाषा, जीवनशैली अद्यावधि प्रचलनमा छ ।
उँधौली देली र उभौली पर्वका बेला लाग्ने मैलाले सुर्यकुण्डले किरात संस्कृति यहाँको मुख्य संस्कृति भएको देखाउँछ । प्राय राई जातिको बसोबास गर्ने सुर्यकुण्डमा स्थानीयहरूको जिबिकोपार्जन कृषिबाटै गरिरहेका छन् । अदुवा, बेसार, अम्रिसो, कोदो, केरा सहित यहाँका नगदेवाली हुन् । प्राकृतिक, धार्मिक, ऐतिहासिक र सास्कृति मिश्रित सुर्यकूण्ड पर्यटकीय क्षेत्र भेडेटारको विकल्प बन्दै गएको छ ।